वीरगंज , १४ बैशाख –
वीरगन्जको त्रिभुवन राजपथअन्तर्गत मेनरोड विस्तारका लागि सडकको केन्द्रविन्दु निर्धारण गर्ने काम मंगलबारदेखि सुरु हुने भएको छ।
महानगरपालिकामा सोमबार बसेको सरोकारवालाहरूको बैठकले आधिकारिक नक्साअनुसार केन्द्रविन्दु पहिचान गरी स्टिलका किल्ला गाड्ने निर्णय गरेको हो।
मेयर राजेशमान सिंहको अध्यक्षतामा भएको बैठकमा जिल्ला प्रशासन, सडक डिभिजन कार्यालय हेटौँडा र नापी कार्यालय पर्साका प्रतिनिधिहरू सहभागी थिए।
सडकछेउका संरचना हटाइए पनि केन्द्रभाग स्पष्ट नभएकाले देखिएको अन्योलता अन्त्य गर्न यो प्रक्रिया अघि बढाइएको हो। केन्द्रविन्दु निर्धारणपछि दायाँ–बायाँ समान दूरी कायम गर्दै सडक विस्तार कार्य सहज र पारदर्शी हुने अपेक्षा गरिएको छ।
नापजाँचका लागि आवश्यक सामग्री सडक डिभिजन कार्यालयले उपलब्ध गराउनेछ भने प्राविधिक मापन कार्य नापी कार्यालयले गर्नेछ। यसका लागि सम्बन्धित निकायहरूको संयुक्त कार्यदल समेत गठन गरिएको छ।
यसअघि गण्डकदेखि भन्सारसम्मका क्षेत्रमा सडक विस्तारका क्रममा डोजर प्रयोग गरी संरचना हटाउने काम सुरु भइसकेको छ।


