वीरगंज , १४ बैशाख –
ट्राफिक प्रहरी कार्यालय वीरगञ्जले सरप्राइज चेकिङ अभियान सञ्चालन गर्दै भारतबाट अवैध रूपमा ल्याइएका नम्बर प्लेटबिहीन १३ वटा ईभी स्कुटर नियन्त्रणमा लिएको छ।
वरिष्ठ सई अर्जुन सोडारीका अनुसार बिना नम्बर प्लेट सञ्चालनमा रहेका स्कुटरहरू चेकजाँचका क्रममा फेला परेपछि नियन्त्रणमा लिइएको हो। अवैध सवारी साधनमाथि निगरानी बढाइएको र चेकजाँच कडा पारिएको उनले बताए।
नियन्त्रणमा लिइएका स्कुटरहरू आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइने जनाइएको छ। प्रहरीले यस्ता सवारी साधन दुर्घटना गराएर फरार हुने जोखिम उच्च हुने भएकाले कारबाही कडा बनाइएको स्पष्ट पारेको छ।
ट्राफिक प्रहरीले आगामी दिनमा पनि अवैध सवारी साधनविरुद्ध नियमित चेकजाँच अभियान जारी राख्ने जनाएको छ।



