नेवा देय दबु जिल्ला समिति पर्सा, नेवा देय दबु वीरगंज महानगर समिति, नेवा पुच वीरगंज, भिन्तुना गुठी भिश्वा तथा खड्गी समाज वीरगंजले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै उक्त अभिव्यक्तिको विरोध गरेका हुन।
संघर्ष समितिका कुन्दन रौनियारले शंखधर साख्वाबारे अपमानजनक अभिव्यक्ति दिएको तथा नेवार समुदायप्रति होच्याउने टिप्पणी गरेको आरोप उनीहरूले लगाएका छन। विज्ञप्तिमा शंखधर साख्वा नेपाल संवतका प्रवर्तक तथा सामाजिक न्यायका अग्रदूतका रूपमा परिचित ऐतिहासिक व्यक्तित्व भएकाले उहाँमाथिको यस्तो टिप्पणीले समग्र समाजको भावनामा आघात पुगेको उल्लेख गरिएको छ।
सोमवार जारी विज्ञप्तिमा रौनियारको अभिव्यक्तिलाई गैरजिम्मेवार, आपत्तिजनक तथा सामाजिक सद्भावमा नकारात्मक असर पार्ने खालको भन्दै कडा निन्दा गरिएको छ। साथै, सडक विस्तारजस्ता विकाससम्बन्धी विषयलाई तोडमोड गरी जातीय विद्वेष फैलाउने प्रयास गरिएको आरोप पनि लगाइएको छ।
हरिखेतान क्याम्पस अगाडिको क्षेत्र व्यवस्थापन तथा शंखधर साख्वा पार्कको सौन्दर्यीकरणजस्ता विषयलाई नामकरण विवादमा मोडेर भ्रम सिर्जना गरिएको दाबी विज्ञप्तिमा गरिएको छ।
वक्तव्यमा शंखधर साख्वाको ऐतिहासिक योगदानको स्मरण गर्दै उहाँको सम्मान कायम राख्न र यस्ता भ्रामक तथा विभाजनकारी अभिव्यक्तिहरू तत्काल रोक्न आग्रह गरिएको छ। साथै, सबै सरोकारवालालाई सचेत रहन अपिल गरिएको छ।



