वीरगंज , १५ बैशाख –
मधेस प्रदेशमा आत्महत्याका घटना तीव्र रूपमा बढ्दै गएको तथ्याङ्कले गम्भीर चिन्ता उत्पन्न गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्ला करिब तीन वर्षमा ३ हजार ३४८ जनाले आत्महत्या गरेका छन् भने चालु आर्थिक वर्षमै ७९३ जनाको ज्यान गइसकेको छ।
चालु आर्थिक वर्षमा आत्महत्या गर्नेमा २८२ पुरुष, ३०४ महिला र २०७ बालबालिका रहेका छन्। बालबालिकामध्ये बालिकाको संख्या उल्लेख्य रूपमा बढी देखिएको छ, जसले सामाजिक संरचना र पारिवारिक अवस्थाबारे थप प्रश्न उठाएको छ।
जिल्लागत विवरणअनुसार यस वर्ष सबैभन्दा बढी सिराहामा १३४ र सबैभन्दा कम पर्सामा ६९ जनाले आत्महत्या गरेका छन्। अघिल्ला वर्षहरूमा पनि अवस्था उस्तै देखिन्छ—आर्थिक वर्ष २०८१/०८२ मा १ हजार २६१ र २०८०/०८१ मा १ हजार २९४ जनाले आत्महत्या गरेका थिए।
प्रहरी तथा सरोकारवालाहरूका अनुसार बेरोजगारी, पारिवारिक कलह, दाइजो प्रथा, मानसिक तनाव, प्रेम सम्बन्धमा विफलता र लागुऔषध दुरुपयोग मुख्य कारणका रूपमा देखिएका छन्। महिलामा घरेलु हिंसा र सामाजिक दबाब प्रमुख कारक रहेका छन् भने पुरुषमा आर्थिक अभाव र वैवाहिक तनावले आत्महत्याको जोखिम बढाएको पाइएको छ।
मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले आत्महत्या प्रदेशकै गम्भीर सामाजिक समस्या बनेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्।
यस्तै, इन्सेक मधेस प्रदेश प्रमुख राजु पासमानले गरिबी, सामाजिक विभेद, अन्तरजातीय विवाहप्रतिको असहिष्णुता तथा सामाजिक सञ्जालको दुरुपयोग पनि यसका सहायक कारण भएको बताएका छन्।
विशेषज्ञहरूले आत्महत्या न्यूनीकरणका लागि स्थानीय तहबाट मनोपरामर्श सेवा विस्तार, जनचेतनामूलक अभियान सञ्चालन र रोजगारी सिर्जनामा केन्द्रित कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।







