वीरगंज मेनरोड विस्तार तीव्र, केन्द्रविन्दु निर्धारण सुरु

1200x150_1200x150-01.jpg (1)

वीरगंज , १५ बैशाख –

त्रिभुवन राजपथअन्तर्गत पर्ने वीरगंजको मेन रोड (मुख्य सडक) विस्तार कार्यले तीव्रता पाएको छ।

गत वैशाख ६ गते डोजर प्रयोग गरी दायाँ–बायाँ २५/२५ मिटर क्षेत्रभित्रका संरचना हटाइएपछि आज मंगलबारदेखि सडकको केन्द्रविन्दु निर्धारण गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको हो।

सोमबार वीरगंज महानगरपालिकामा बसेको सरोकारवालाहरूको संयुक्त बैठकले आधिकारिक नक्साअनुसार सडकको केन्द्रविन्दु पहिचान गरी सो स्थानमा स्टिलका किल्ला गाड्ने निर्णय गरेको थियो।

महानगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा भएको बैठकमा जिल्ला प्रशासन कार्यालय पर्सा, सडक डिभिजन कार्यालय हेटौँडा र नापी कार्यालय पर्साका प्रतिनिधिहरू सहभागी थिए।

यसअघि संरचना हटाइए पनि सडकको वास्तविक केन्द्रभाग स्पष्ट नहुँदा स्थानीयवासीमा ‘कहाँसम्म हटाउने’ भन्ने अन्योलता थियो। अब भने केन्द्रविन्दु निर्धारण भएपछि दायाँ–बायाँ समान दूरी कायम गर्दै आवश्यक चौडाइ सुनिश्चित गर्न सहज हुने विश्वास गरिएको छ। यसले विस्तार कार्यलाई थप पारदर्शी र विवादरहित बनाउने अपेक्षा गरिएको छ।

नापजाँचका लागि आवश्यक प्राविधिक तथा भौतिक सामग्री सडक डिभिजन कार्यालय हेटौँडाले उपलब्ध गराएको छ भने मापनसम्बन्धी कार्य नापी कार्यालय पर्साले गरिरहेको छ। सडक डिभिजन कार्यालयका इन्जिनियर भोला प्रसाद साहका अनुसार मंगलबार बिहानदेखि नापजाँच कार्य सुरु गरिएको हो।

यसका लागि सडक डिभिजन कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय र वीरगंज महानगरपालिकाको संयुक्त कार्यदल गठन गरिएको छ, जसले नापजाँचदेखि कार्यान्वयनसम्म समन्वय गर्नेछ।

यसअघि गण्डकदेखि भन्सारसम्मका क्षेत्रमा रहेका घर–टहरा हटाउन डोजर प्रयोग गरिएपछि अहिले केन्द्रविन्दु निर्धारणसँगै सडक विस्तार कार्यले थप गति लिएको छ।

सम्बन्धित पोस्टहरुः