वीरगंज,१५ वैशाख । आयात तथा निर्यात गरिने सामानमा अनिवार्य एमआरपी उल्लेख गर्नुपर्ने व्यवस्था खारेज गर्न वीरगंज उद्योग वाणिज्य संघले सरकारसँग माग गरेको छ।
संघका अध्यक्ष हरि प्रसाद गौतम मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकारले २०८२ चैत २६ गते जारी गरेको सूचना अनुसार भन्सार बिन्दुमा विदेशबाट आउने तथा स्वदेशमा उत्पादन हुने सबै सामानमा अनिवार्य एमआरपी उल्लेख गर्नुपर्ने व्यवस्था लागू गर्न खोजेकोमा कडा आपत्ति जनाएका छन् ।
सरकारको उक्त निर्णय एकाएक र हठात रूपमा लागू गर्न असम्भव भएको बताउँदै उनले आयात र आन्तरिक बजारमा नकारात्मक प्रभाव पार्ने दावी गरे ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ को उपदफा (ञ) मा उल्लेख भए पनि सरोकारवालासँग कुनै छलफल र अन्तर संवाद नगरी एकपक्षीय रूपमा एमआरपी लागू गर्ने सरकारको निर्णय निजी क्षेत्रमैत्री नभएको संघको ठहर छ । छिमेकी देश भारतमा एमआरपी केवल एमएमसीजी र साना मेशिनरी सामानमा मात्र लागू गरिएको भएता पनि नेपालमा भने सबै प्रकारका वस्तु तथा सामानमा बाध्यकारी रूपमा एमआरपी लागू गर्नुपर्ने व्यवस्था अव्यवहारिक रहेको संघको भनाइ छ ।
संघले अन्तर्राष्ट्रिय बजार मूल्य र विदेशी मुद्राको मूल्य प्रतिक्षण परिवर्तन भइरहने युगमा आयातित सामानको एमआरपी निर्धारण कसरी गर्ने र कुन मूल्यलाई आधार मान्ने भन्ने स्पष्टता नभएको प्रश्न उठाएको छ । सानो बजार र सानो अर्थतन्त्र भएको नेपालजस्तो देशमा साना खुद्रा विक्रेताहरूले पाउने निश्चित नाफा कसरी निर्धारण गर्ने, थोरै परिमाणमा हुने आयात, हार्माेनिक कोड परिवर्तन गर्ने प्रचलन तथा एमआरपीको ४० देखि ५० प्रतिशतलाई भन्सार मूल्याङ्कन गर्ने सरकारको नीति जस्ता व्यवहारिक कठिनाइहरूले एमआरपी लागू गर्न अत्यन्त कठिन रहेको जनाएको छ । यस्ता विरोधाभासपूर्ण अवस्थाहरू हल नभएसम्म एमआरपी लागू गर्न नमिल्ने संघको धारणा छ ।
संघले हाललाई एमआरपी लागू गर्ने निर्णय स्थगित गर्न र पहिले गहन अध्ययन, बजार अनुसन्धान तथा निजी क्षेत्रको पूर्ण सहभागीतामा एक सशक्त समिति गठन गरी व्यावहारिक मापदण्ड तयार पार्नुपर्ने माग गरेको छ ।
सरकारको उक्त निर्णयकै कारण मंगलवार वीरगंज भन्सार लगायत देशका विभिन्न भन्सार कार्यालयबाट आयातित सामानको भन्सार जाँचपास हुन नसकेको संघले जनाएको छ । भन्सार पास नहुँदा मुलुकको आपूर्ति शृंखलामा गम्भीर नकारात्मक असर पार्ने, राजस्व सङ्कलनमा कमी ल्याउने र अन्ततः मुलुकको अर्थतन्त्र नै प्रभावित हुने संघले ठहर गरेको छ ।







