वीरगंज , १६ बैशाख –
वीरगंजस्थित गौतम विद्यालयले स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण जयन्ती वर्ष शुभारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा विधिवत पूजा अर्चना गर्दै तथा केक काटेर स्वर्ण जयन्ती वर्षको औपचारिक उद्घाटन गरिएको हो।
सोही अवसरमा विद्यालयको नयाँ सुविधा सम्पन्न भवनसमेत उद्घाटन गरिएको छ। विद्यालयकी डाइरेक्टर परिक्षा प्रिया लामाका अनुसार नयाँ भवनमा आधुनिक प्रविधिसहित कक्षा १० का विद्यार्थीहरूलाई मात्र अध्यापन गराइनेछ। साथै डिजिटल शिक्षण प्रणाली र ‘स्मार्ट क्लास’ अवधारणाअनुसार पठनपाठन सञ्चालन गरिने उनले जानकारी दिइन्।
कार्यक्रममा विद्यालयकी संस्थापक उर्मिला लामा विगतका संघर्षपूर्ण दिनहरू सम्झँदै भावुक बनेकी थिइन्। उनले विद्यालय स्थापना गर्दा भोग्नुपरेका कठिनाइ उल्लेख गर्दै अभिभावक, शिक्षक र समाजको सहयोगले विद्यालय यहाँसम्म आइपुगेको बताइन्।
वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरूले विद्यालय प्राङ्गणमा ‘५०’ अंकको आकृतिमा उभिएर बेलुन उडाउँदै उत्सवलाई थप आकर्षक बनाएका थिए।
कार्यक्रममा संस्थापक निमा लामा, उर्मिला लामा, सोनम लामा, परिक्षा प्रिया लामा, प्रिन्सिपल गणेश क्षेत्री, रमेश शर्मा, ललित कर्ण, सौराज प्रधान, सरोजप्रसाद चौधरी, मनि पाख्रिन, लालबाबु पटेल, मनीष सिंह, डा. दीपक शाक्य, पशुपति विक्रम शाह, उषा शाह लगायतको उपस्थिति रहेको थियो।







