पर्सा , १७ बैशाख –
सरकारले संसद् स्थगित गरेर विभिन्न ६ वटा अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविद् तथा कानुनविद्सँग परामर्श गर्ने भएका छन्। शीतल निवासमा आज दिउँसो ४ बजे परामर्शका लागि विज्ञहरूलाई बोलाइएको छ।
सरकारले संवैधानिक परिषद् सम्बन्धी ऐन, सहकारी ऐन, विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी ऐन, सार्वजनिक पदाधिकारीको पदमुक्ति र सार्वजनिक खरिद ऐन संशोधन गर्न अध्यादेश सिफारिस गरेको छ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम साहले अध्यादेश नागरिक हित र राज्य संयन्त्रको प्रभावकारिता बढाउन ल्याइएको बताएका छन्। उनका अनुसार कानुनी जटिलताका कारण जनसरोकारका काम अवरुद्ध हुन नदिन यस्तो कदम चालिएको हो।
यसैबीच सरकारको कदमको विरोधमा विपक्षी दलहरू मोर्चाबन्दीमा जुटेका छन्। एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा आज बस्ने बैठकमा अध्यादेशकै विषयमा केन्द्रित छलफल हुने जनाइएको छ।







