राधेश्याम पटेल, परवानीपुर,२३ बैशाख –
वीरगंज महानगरपालिका–३१ बेल्वास्थित मारुती पेपर्स समूह अन्तर्गत सञ्चालित मारुती प्रिन्ट एण्ड प्याक लिमिटेडमा कार्यरत एक कामदारको मृत्यु भएपछि उनका परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको छ ।
वीरगंज–३१ चोर्नी गाउँका ५० वर्षीय अगेन्द्र साह कानुको मंगलबार बिहान (बैशाख २२ गते) उद्योग परिसरमै शंकास्पद अवस्थामा मृत्यु भएको थियो। घटनापछि मृतकका परिवारले उचित क्षतिपूर्तिको माग गर्दै शव बुझ्न अस्वीकार गरेका थिए।
पछिल्लो वार्तापछि उद्योग प्रशासन र पीडित परिवारबीच सहमति जुटेको छ। सहमतिअनुसार किरिया खर्चबापत २५ हजार रुपैयाँ, परिवारको भरणपोषणका लागि ४ लाख ७५ हजार रुपैयाँ र थप ५ लाख रुपैयाँ गरी कुल १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरिएको छ। सहमति भएपछि परिवारले शव बुझेको र दाहसंस्कार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ। प्रहरीका अनुसार अनुसन्धानपछि विस्तृत विवरण सार्वजनिक गरिनेछ।
उद्योग सञ्चालक दिपेश अग्रवालले भने उक्त घटनामा उद्योगको कुनै लापरबाही नरहेको दाबी गरेका छन्। उद्योगका अन्य मजदुरका अनुसार साह बिहान करिब २ बजे निद्राका कारण भर्याङबाट लडेर मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ।
अर्बौ रुपैयाँ लगानीमा सञ्चालनमा रहेको उक्त उद्योग नेपालका ठूला कागज उद्योगमध्ये एक मानिन्छ, जहाँ सयौं जनाले रोजगारी पाएका छन्।







