वीरगंज ,२३ बैशाख –
वीरगंज महानगरपालिका–३० मा सामाजिक तथा निजी कार्यक्रममा अश्लील भोजपुरी गीत बजाउन प्रतिबन्ध लगाइएको छ। वडाध्यक्ष मनोज कुमार यादवको अध्यक्षतामा बसेको गाउँ भेलाले विवाह, भोजलगायतका कार्यक्रममा अश्लील भोजपुरी गीत बजाउन नपाइने सर्वसम्मत निर्णय गरेको हो।
निर्णयअनुसार प्रतिबन्ध उल्लङ्घन गरे कारबाही तथा नगद जरिवाना गरिने जनाइएको छ। साथै जन्तीमा सम्बन्धित व्यक्तिको अनुमति बिना प्रवेश गर्नेलाई पनि जरिवाना गरिने व्यवस्था गरिएको छ।
गाउँ भेलाले मदिरा पसल बेलुकी ८ बजेसम्म मात्र सञ्चालन गर्न, राति १० बजेपछि अनावश्यक रूपमा बाहिर नडुल्न तथा मदिरा सेवन गरी होहल्ला गर्न नपाइने निर्णय समेत गरेको छ।
उल्लङ्घन गर्ने व्यक्तिलाई सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिएर कारबाही गरिने वडाध्यक्ष यादवले जानकारी दिएका छन्। वडामा बढ्दो सामाजिक विकृति, जाँडरक्सी सेवनपछि हुने झैझगडा नियन्त्रण गर्न यस्तो निर्णय गरिएको जनाइएको छ।
कार्यक्रममा जनप्रतिनिधि, प्रहरी, स्थानीय अगुवा तथा सरोकारवालाको सहभागिता रहेको थियो।







