राधेश्याम पटेल,वीरगंज , २४ बैशाख –
पर्साको सखुवाप्रसौनी गाउँपालिकामा भएको बलात्कार प्रकरणला अभियुक्त रहेका दुई मध्ये एकजना ३६ दिन पछी प्रहरीमा हाजिर भएका छन । गत चैत्र १७ गते कक्षा ५ मा पढ्ने १२ बर्षिया नाबालिकामाथि शिक्षक रुपेश यादव र एकजना लड्डु यादव मिलेर बलत्कार गरेको पिडिताले वयान दिएकी छन ।
घटना सार्वजनिक भएलगतै फरार रहेका अभियुक्त दुई जना मध्ये डोकैला माविका निमावि (सामाजिक) स्थायी शिक्षक रुपेश यादव ३६ दिन पछी मंगलबार ( बैशाख २२ गते ) जिल्ला प्रहरी कार्यालय पर्सामा हाजिर भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्सा अभियुक्त यादवलाई जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा हाजिर गराएर हिरासतमा राखेर अनुसन्धानका लागि ७ दिने म्याद लिएको छ ।
घटनाको मुख्य आरोपी अभियुक्त २५ बर्षीय लड्डु यादव हालसम्म फरार छन । उनि भारतमा लुकेर बसेका र सामाजिक सञ्जाल टिकटकमा देखा पर्दै आएका छन । नाबालिकालाई मुख्य अभियुक्त लड्डु यादव र भगल यादवको घरमा राखेर एकैदिन दुईपटक बलात्कार गरिएको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठकले घटनाको बारेमा विस्तृत अनुसन्धान जारि रहेको बताउदै अर्का आरोपी लड्डुलाई खोज्ने कार्य जारि रहेको जनाएका छन ।
पीडिताका पिताले एक साता अघि नेपाल पत्रकार महासङ्घ पर्सामा पत्रकार सम्मेलन गरेर घटनाका आरोपीलाई प्रहरीले जोगाउन खोजेको आरोप लगाएका थिए ।
यसैगरी, छोरीलाई विभिन्न माध्यमबाट धम्की दिने काम भएको र प्रहरीले अभियुक्तहरूलाई तह लगाउन भूमिका नखेलेको आरोप लगाएका थिए । पीडिताका पिताले प्रहरीमाथि पनि गम्भीर आरोप लगाउँदै बयान फेर्ने काम गरेको, रिपोर्टमा छेडछाड गरेको आरोप लगाएका थिए ।
यस विषयमा प्रतिक्रिया दिँदै पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठकले घटनाबारे विस्तृत र निष्पक्ष अनुसन्धान भइरहेको र यसबारे धेरै बोल्न नमिल्ने बताएका थिए ।
उनले भने, “घटनाक्रमको विभिन्न कोणबाट सूक्ष्म अनुसन्धान भइरहेको छ, त्यसैले अहिले धेरै बोल्नु उपयुक्त हुँदैन।”
पीडित परिवारले लगाएका आरोपहरू निराधार रहेको दाबी गर्दै उनले अनुसन्धान पूरा भएपछि तथ्यका आधारमा दोषीमाथि कारबाही गरिने स्पष्ट पारेका थिए ।







