वीरगंज , २५ बैशाख –
वीरगंज महानगरपालिका–१३ स्थित नीलकण्ठ अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको छ । घटनापछि मृतकका आफन्तले अस्पताल प्रशासनमाथि गम्भीर लापरवाहीको आरोप लगाएका छन् ।
मृतक वीरगंज महानगरपालिका–३१ की ५० वर्षीया प्रमिला देवी साह रहेकी छन् । परिवारका अनुसार उहाँको शुक्रबार बिहान करिब ५:१५ बजे उपचारकै क्रममा निधन भएको हो ।
आफन्तहरूले समयमै उचित उपचार र चिकित्सकीय ध्यान नपुगेका कारण मृत्यु भएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् । घटनापछि अस्पताल परिसरमा केहीबेर तनावको स्थिति समेत सिर्जना भएको थियो ।
अस्पतालका चिकित्सक डा. शैलजान्नद (भुरेर) यादवले भने उपचारमा कुनै लापरवाही नभएको दाबी गर्नुभएको छ । उहाँका अनुसार बिरामीको हृदयघातका कारण मृत्यु भएको हो र अस्पतालले सक्दो प्रयास गरेको थियो ।
उहाँले असन्तुष्टि भए नेपाल मेडिकल काउन्सिलमा उजुरी दिन सकिने भन्दै छानबिनबाट दोषी ठहर भए कानुनअनुसार कारबाही भोग्न तयार रहेको बताउनुभयो । अस्पताल प्रशासनले मृतक परिवारप्रति समवेदना पनि व्यक्त गरेको छ ।







