पर्सा , २६ बैशाख –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि ललितपुरको जावलाखेलमा सुरु भएको छ ।
‘सक्षम सांसद, सशक्त संसद्’ भन्ने नारासहित सञ्चालन भइरहेको प्रशिक्षणमा उपसभापति तथा अर्थमन्त्री स्वर्णीम वाग्ले, महामन्त्रीद्वय कबिन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन आचार्यसहित सांसदहरूको सहभागिता रहेको छ ।
तर प्रशिक्षणमा सांसदहरूको उपस्थिति अपेक्षाकृत कम भएपछि संसदीय दलका उपनेता गणेश पराजुलीले असन्तुष्टि व्यक्त गरे छ । उनले उद्घाटन सम्बोधनमा सांसदहरूले कार्यक्रमलाई कम महत्व दिएको भन्दै यस्तो अवस्था संसदीय भूमिकाप्रति उदासीनताको संकेत भएको बताए ।
उनले प्रशिक्षणलाई औपचारिकतामा सीमित नगरी आत्ममूल्याङ्कन र राजनीतिक संस्कार विकासको अवसरका रूपमा लिनुपर्नेमा जोड दिए । साथै उपस्थिति र सहभागिताबारे पार्टी तथा संसदीय दलले मूल्याङ्कन गर्ने चेतावनी पनि दिए।
पराजुलीले नागरिकले नयाँ सोच, पारदर्शिता र परिणाममुखी राजनीति अपेक्षा गरिरहेकाले सांसदहरूले अध्ययन र जनउत्तरदायित्वमा थप सक्रिय हुनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।







