वीरगंज , २७ वैशाख –
चालू आर्थिक वर्ष २०८२/८३ को १० महिना पूरा हुन लाग्दा सरकारले ११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि विनियोजित १९ खर्ब ६४ अर्ब रुपैयाँमध्ये हालसम्म ५८.७५ प्रतिशत खर्च भएको छ।
चालूतर्फ ११ खर्ब ८० अर्बमध्ये ८ खर्ब ९ अर्ब रुपैयाँ (६८.०४ प्रतिशत) खर्च भएको छ। पूँजीगत खर्च भने कमजोर देखिएको छ। ४ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन भएकोमा हालसम्म १ खर्ब ९ अर्ब रुपैयाँ मात्र (२६.८७ प्रतिशत) खर्च भएको छ।
यसले विकास आयोजनाको प्रगति अपेक्षाअनुसार अघि नबढेको संकेत गरेको छ।
सरकारी लक्ष्यअनुसार यस वर्ष १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने योजना रहेकोमा हालसम्म ९ खर्ब ७० अर्ब रुपैयाँ मात्र संकलन भएको छ। आर्थिक वर्षको अन्त्यतिर विकास बजेटको खर्च तीव्र हुने परम्पराले यसपटक पनि कामको गुणस्तर र वित्तीय अनुशासनमा असर पर्ने जोखिम देखिएको छ।







