वीरगंज , २९ बैशाख –
ट्रान्सफर्मर पड्किँदा गम्भीर घाइते भएका एक मजदुरको उपचारका क्रममा मृत्यु भएको छ । पर्साको बहुदरमाई नगरपालिका–३ निवासी ४५ वर्षीय चनरजित राउत को काठमाडौंस्थित वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको परिवारले जनाएको छ ।
उनी वीरगंज महानगरपालिका–२३ स्थित सन तारा इलेक्ट्रिक प्रा.लि. मा कार्यरत थिए । जितपुर सिमरा उपमहानगरपालिका–२३ भलुईस्थित एभरेस्ट छाला कम्पनीमा ट्रान्सफर्मर जडान गर्ने क्रममा विस्फोट हुँदा उनी गम्भीर घाइते भएका थिए ।
विस्फोटमा उनको शरीरका अधिकांश भाग जलेको थियो । प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको थियो ।
मृत्युपछि परिवारजन र आफन्तहरूले क्षतिपूर्तिको माग गर्दै एभरेस्ट छाला कम्पनी अगाडि प्रदर्शन गरेका छन् । उनीहरूले पीडित परिवारलाई न्याय, राहत तथा कम्पनीको जिम्मेवारी सुनिश्चित गर्न माग गरेका छन् ।







