वीरगंज, २९ वैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले कर्तव्य ज्यान मुद्दामा सात वर्षदेखि फरार रहेका दुई जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ।
२०७६ सालमा भएको एक वृद्धको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगंज म.न.पा. २७ जगमती देवी कोईरी (५० वर्ष) र जितेन्द्र प्रसाद कुशवाहा (३२ वर्ष) लाई पक्राउ गरेको हो।
मिति २०७६ साउन ३१ गते राती करिब १२ः०० बजेको समयमा साविक उदयपुरघुर्मी गा.वि.स. वडा नं. ९ ( हाल वीरगंज महानगरपालिका वडा नं. २७ जसौली) बस्ने ७० वर्षीय महिन्द्र महतो कोईरीको हत्या भएको थियो। घरायसी वाद–विवादका कारण कर्तव्य गरी हत्या गरिएका कोईरीको मृत्यु पश्चात संलग्न उनीहरू फरार रहँदै आएका थिए।
पक्राउ परेका दुवैजनामाथि पर्सा जिल्ला अदालतमा पेश गरिएकोमा अदालतबाट ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धानका लागि सात दिनको म्याद थप अनुमति लिई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान कार्य अगाडि बढाइएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी गराएका छन् ।







