वीरगंज, ३० बैशाख –
जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गत निर्माण गरिएको सुविधासम्पन्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको भवन आज बुधबार उद्घाटन गरिएको छ।
बेलायत सरकारको करिब २ करोड ४८ लाख रुपैयाँको लागतमा रोयल कन्स्ट्रक्सन कैलाली मार्फत निर्माण गरिएको उक्त भवनको उद्घाटन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले गरेका हुन्।
नवनिर्मित भवनमा विश्राम कक्ष, एक दिनसम्म अभियुक्त राख्न सकिने ट्रान्जिट कक्ष, प्रशासनिक कक्ष, सुरक्षा अधिकारीहरूका लागि विश्राम कक्ष तथा पीडितहरूका लागि परामर्श कक्ष लगायतका सुविधाहरू उपलब्ध छन्।
उद्घाटन समारोहमा बोल्दै आईजीपी कार्कीले आधुनिक तथा सुविधासम्पन्न भवनबाट पीडित र सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान हुने विश्वास व्यक्त गरे। उनले प्रविधिको विकाससँगै अपराधका स्वरूप पनि परिवर्तन भइरहेको उल्लेख गर्दै त्यसको नियन्त्रणका लागि प्रविधिमै आधारित प्रणाली अपनाउनुपर्ने आवश्यकता औंल्याए।
उनले नेपाल प्रहरीले चाँडै नै आधुनिक सुविधासहितको मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याउने जानकारी दिँदै सो एपमार्फत गुनासो दर्ता, उजुरीको अवस्था ट्र्याकिङ तथा पालो सम्बन्धी जानकारी सहज रूपमा प्राप्त गर्न सकिने बताए।
वीरगंजको सन्दर्भमा बोल्दै उनले आर्थिक नगरी वीरगंजको देश विकासमा महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै यहाँ हुने अवैध कारोबार नियन्त्रण गर्न र प्रहरी संयन्त्रलाई बिचौलियामुक्त बनाउनुपर्नेमा जोड दिए। साथै प्रहरी कार्यालयमा अनावश्यक भीडभाड नगर्न र ‘पञ्चायती’ शैलीमा मुद्दा छलफल नगर्न कर्मचारीलाई निर्देशन दिएका छन्।
उद्घाटन कार्यक्रममा वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, मधेश प्रदेश प्रहरी अतिरिक्त महानिरीक्षक गोविन्द थपलिया, वरिष्ठ प्रहरी उपरीक्षकहरू भीमबहादुर दाहाल र शान्तिराज कोइराला, जिल्ला अदालत पर्साकी न्यायाधीश गायत्री रेग्मी, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रहरी उपरीक्षक सुदीप राज पाठक, जिल्ला न्यायाधिवक्ता मनोज गुप्ता, वीरगंज भन्सार प्रमुख कृष्ण मैनाली तथा उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम लगायतको सहभागिता रहेको थियो।
यसअघि यस्तै सुविधासम्पन्न भवनहरू बारा जिल्लाको कलैया, सिमरौनगढ लगायत देशका ३८ जिल्लामा ५८ वटा निर्माण भई हस्तान्तरण भइसकेका छन्।
यु.एन.ओ.पी.एस. कार्यक्रम अन्तर्गत सुरक्षा र न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले बेलायत सरकारको सहयोगमा नेपाल सरकारले सन् २०१५ देखि महिला सेल तथा तालिम केन्द्रका भवन निर्माण गर्दै आएको छ।







