वीरगंज , ४ जेठ –
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सिफारिशसम्बन्धी रिट दर्ता नगरी दरपीठ गरिएको विषयमा परेको निवेदन दर्ता गर्न आदेश दिइएको छ ।
कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दरपीठविरुद्ध परेको निवेदन प्रक्रिया अघि बढाउन सर्वोच्च प्रशासनलाई निर्देशन दिएकी छन ।
संवैधानिक परिषद्ले वरिष्ठता मिचेर सिफारिश गरेको दाबी गर्दै दायर गरिएको रिट प्रशासनले अस्वीकार गरेपछि विवाद चुलिएको थियो । सोही निर्णयविरुद्ध अधिवक्ता प्रेम सिलवालले निवेदन दिएका थिए ।
यसअघि चौथो वरिष्ठतामा रहेका मनोजकुमार शर्मालाई सिफारिश गरिएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले रिट दायर गरेका थिए । दरपीठपछि भएको यो निर्णयसँगै निवेदन अब दर्ता प्रक्रियामा अघि बढ्ने भएको छ ।







