वीरगंज , ४ जेठ –
नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाई ले देशको वर्तमान राजनीतिक अवस्था, भ्रष्टाचार र जनताको समस्याप्रति सरकार गम्भीर नभएको आरोप लगाउनुभएको छ ।
भोलि वीरगंजमा हुने कार्यक्रमका लागि सिमरा विमानस्थलमा आइपुग्नुभएका प्रसाईले सञ्चारकर्मीसँग कुरा गर्दै देश बचाउन अब नागरिक स्वयं जाग्नुपर्ने बताउनुभयो । उहाँले बेरोजगारी, महँगी, भ्रष्टाचार र प्रशासनिक बेथिति बढ्दै गएको दाबी गर्दै जनताको आवाज दबाउने प्रयास भइरहेको आरोप लगाउनुभयो ।
“जनताको अधिकार र राष्ट्रको हितका लागि आवाज उठाउनु अपराध होइन,” भन्दै उहाँले देशलाई गलत दिशामा लैजान खोज्ने प्रवृत्तिविरुद्ध नागरिक एकजुट हुन आवश्यक रहेको बताउनुभयो । प्रसाईले आफ्नो अभियान कुनै दल विशेषको नभई आम नागरिकको अभियान भएको दाबी पनि गर्नुभयो ।
वीरगंजमा औपचारिक कार्यक्रम गर्न प्रशासनले अनुमति नदिएकोप्रति असन्तुष्टि जनाउँदै उहाँले लोकतान्त्रिक व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रताको सम्मान हुनुपर्ने बताउनुभयो ।
प्रसाईले भोलि वीरगंजस्थित गहवामाई मन्दिरमा पूजा गरी समर्थकहरूसँग भेटघाट तथा सम्बोधन गर्ने तयारी रहेको बताइएको छ । यता जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै अनधिकृत सभा, जुलुस वा प्रदर्शन नगर्न आग्रह गरेको छ ।







