बोक्सीको आरोपमा वृद्धामाथि कुटपिट गर्ने तीन महिला पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज , ७ जेठ –

वीरगञ्जमा एक वृद्धा महिलालाई बोक्सीको आरोप लगाएर कुटपिट गरेको आरोपमा प्रहरीले तीन महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–३२ चोर्नी गाउँकी ३८ वर्षीया पिंकी देवी, ४४ वर्षीया पानमती देवी र ५४ वर्षीया शान्तिदेवी धानुक रहेका छन् ।

प्रहरीका अनुसार गत फागुन २७ गते ७२ वर्षीया कोशिलिया अहिरिन गहुँबारीमा गएका बेला गाउँकै मुनती देवीसहित चार महिलाले उनलाई झुक्याएर घरको आँगनमा लगेका थिए । त्यसपछि बोक्सीको आरोप लगाउँदै चप्पलले हानेर कुटपिट गरिएको प्रहरीले जनाएको छ ।

घटनापछि पीडित अहिरिनले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले मंगलबार घण्टाघर क्षेत्रबाट तीन महिलालाई पक्राउ गरेको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

घटनामा संलग्न मुनती देवी फरार रहेकी छन् भने उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि बोक्सीको आरोप सम्बन्धी कसूर तथा सजाय ऐन, २०७२ अन्तर्गत अनुसन्धान भइरहेको छ ।

सांकेतिक तस्वीर

सम्बन्धित पोस्टहरुः