रास्वपाबाट सभापति स्वर्णकार निष्कासित, ‘राजनीतिक हत्या’ भन्दै कडा प्रतिक्रिया

1200x150_1200x150-01.jpg (1)

वीरगंज , ७ जेठ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । निष्कासनपछि उनले सामाजिक सञ्जालमार्फत तीव्र प्रतिक्रिया जनाउँदै निर्णयलाई “राजनीतिक हत्या” भन्दै आरोप लगाएका छन् ।

फेसबुकमा सार्वजनिक गरिएको आफ्नो भनाइमा उनले पार्टी नेतृत्वले तथ्य र प्रमाणलाई बेवास्ता गर्दै निष्पक्ष छानबिन बिना नै आफूलाई हटाइएको दाबी गरेका छन् । उनले जेठ ९ गते हुने विस्तारित बैठक र अधिवेशनको ठीक अगाडि यस्तो निर्णय आउनु षड्यन्त्रपूर्ण भएको आरोपसमेत लगाएका छन् ।

स्वर्णकारका अनुसार अधिवेशनमा आफू पुनः जिल्ला सभापति निर्वाचित हुने सम्भावनाबाट डराएर केन्द्रको दबाबमा पार्टीले निष्कासन गरेको हो । उनले पार्टीको साधारण सदस्यताबाट हटाइए पनि महागढीमाई र बारा क्षेत्रका जनताको समर्थनबाट आफ्नो राजनीतिक यात्रा निरन्तर रहने बताएका छन् ।

उनले अब स्वतन्त्र रूपमा राजनीतिक गतिविधि अघि बढाउने घोषणा गर्दै आगामी स्थानीय निर्वाचनलाई आफ्नो “फैसलाको मैदान” हुने बताएका छन् । साथै उनले न्यायको लडाइँमा साथ दिने सबै समर्थकप्रति आभार पनि व्यक्त गरेका छन् ।

पार्टीले भने यस विषयमा हालसम्म औपचारिक विस्तृत प्रतिक्रिया सार्वजनिक गरेको छैन । घटनाले बारा जिल्लाको राजनीतिक वृत्तमा नयाँ बहस र चर्चा सिर्जना गरेको छ ।

सम्बन्धित पोस्टहरुः