नक्कली रसिद प्रयोग गरेको आरोपमा लेखापढी व्यवसायी पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज , ७ जेठ –

मालपोत कार्यालय पर्सामा नक्कली रसिद प्रयोग गरी सरकारी राजश्व छली गरिएको घटनामा एक लेखापढी व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगंजस्थित ‘शुभ लाभ लेखापढी’का सञ्चालक ओमप्रकाश यादव रहेका छन् ।

मालपोत कार्यालय पर्साका प्रमुख खेमराज खत्रीका अनुसार यादवविरुद्ध ४ लाख ७२ हजार रुपैयाँ बराबरको राजश्व हिनामिना गरिएको भन्दै बुधबार कार्यालयमा लिखित उजुरी परेको थियो । उजुरीपछि कार्यालयले आन्तरिक छानबिन सुरु गरेको जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा नक्कली रसिद प्रयोग गरी सरकारी राजश्व छली गरिएको तथ्य फेला परेपछि आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गरिएको प्रमुख खत्रीले जानकारी दिए ।

मालपोत कार्यालयको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले ओमप्रकाश यादवलाई पक्राउ गरेको हो । प्रहरीले उनीमाथि किर्ते रसिद तयार गरी सरकारी राजश्व हिनामिना गरेको आरोप लगाएको छ ।

प्रहरीका अनुसार घटनामा अन्य व्यक्तिको समेत संलग्नता रहेको हुनसक्ने आशंकामा थप अनुसन्धान भइरहेको छ । घटनापछि मालपोत कार्यालय पर्साले सेवाग्राहीलाई आधिकारिक रसिद र स्वीकृत भुक्तानी प्रक्रिया मात्रै प्रयोग गर्न आग्रह गरेको छ ।

यस घटनाले सरकारी कार्यालयको राजश्व संकलन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको भन्दै स्थानीयवासीले निष्पक्ष अनुसन्धान तथा दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

सम्बन्धित पोस्टहरुः