वीरगंज , ७ जेठ –
एक्सन, थ्रिलर र सस्पेन्स जनरामा निर्माण गरिएको नेपाली चलचित्र ‘कुम्भ’ यही जेठ १५ गतेदेखि देशभरका चलचित्र हलहरूमा प्रदर्शन हुने भएको छ । करिब तीन महिनासम्म छायांकन गरिएको चलचित्रको कथा, पटकथा र लेखन तयारीमै भने तीन वर्ष समय लागेको निर्माण टिमले जनाएको छ ।
चलचित्रको छायांकन भारतको कर्नाटक, मैङ्लुर, मुद्रेश्वर, मणिपाल लगायतका स्थानमा गरिएको छ भने नेपालमा काठमाडौं र रौतहटको चपुर क्षेत्रमा समेत दृश्य खिचिएको छ । चलचित्रमा शक्ति, प्रभाव र सत्ताका लागि मानिसले गर्न सक्ने संघर्षलाई मुख्य विषय बनाइएको अभिनेता अशोक आर्यनले बताएका छन् ।
चलचित्रमा वरिष्ठ अभिनेता तथा बलिउडसम्म अभिनय गरेका दिवंगत सुनिल थापाको अन्तिम अभिनय रहेको विशेष चर्चा छ । साथै चलचित्रमा अशोक आर्यन, सृष्टि खड्का, सुशील पोखरेल, रोहित रूम्बा तथा भारतीय चर्चित कलाकार सुरेन्द्र ठाकुरको अभिनय रहेको छ ।
सुरेन्द्रले तमिल, तेलगु, बलिउडदेखि हलिउडसम्म काम गरिसकेका कलाकारका रूपमा चिनिन्छन् । चलचित्रमा चर्चित दक्षिण भारतीय फिल्म ‘कान्तरा’मा काम गरेका फाइटर टोलीको समेत सहभागिता रहेको बताइएको छ ।
सप्तरीको राजविराज स्थायी घर भएका तथा हाल काठमाडौंमा बस्दै आएका अभिनेता अशोक आर्यनका लागि ‘कुम्भ’ डेब्यु चलचित्र हो । उनले यसअघि ३० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । ‘बितेका कुरा’, ‘सानी नानी’, ‘चन्द्रमुखी’ र ‘तेरे मेरे दरमियाँ’ लगायतका गीतमा उनको अभिनय देख्न सकिन्छ ।
अशोकले आफ्नो जीवनको चार वर्ष वीरगंजमा बिताएको उल्लेख गर्दै वीरगंजलाई दोस्रो घरको रूपमा लिने बताएका छन् । कला र अभिनय क्षेत्रमा प्रवेश गर्ने प्रेरणा पनि आफूले वीरगंजबाटै पाएको उनको भनाइ छ ।
अभिनयसँगै उनी हाल वीर अस्पतालमा सहायक प्राध्यापकका रूपमा अध्यापन गराउँदै आएका छन् । उनी सुनाइ तथा बोली भाषा विशेषज्ञसमेत हुन् । सन् २०१५ देखि म्युजिक भिडियोमार्फत अभिनय यात्रा सुरु गरेका उनले २०२५ मा आएर चलचित्रमा मुख्य भूमिकामा अवसर पाएका हुन् । सम्भवतः मधेशबाट नेपाली चलचित्रमा पहिलो पटक मुख्य ‘लिड रोल’ गर्ने अभिनेतामध्ये उनी एक मानिएका छन् ।
उनले भारतको मुम्बईमा बसेर अभिनय अध्ययन गरेका थिए । साथै अनुपम खेरको इन्स्टिच्युटबाट थिएटर अभिनयको प्रशिक्षणसमेत लिएका छन् ।
चलचित्रकी अभिनेत्री सृष्टि खड्काले पनि दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । हट र बोल्ड कलाकारका रूपमा चिनिँदै आएकी सृष्टिको भूमिका पनि चलचित्रमा आकर्षणको केन्द्र रहने निर्माण टिमको दाबी छ ।
चलचित्रका लेखक तथा निर्देशक रणधिर श्रेष्ठ हुन् । ‘कुम्भ’मार्फत उनले निर्देशनमा समेत डेब्यु गरेका छन् । चलचित्रका निर्माता रणधिर श्रेष्ठसँगै राजेश साह रहेका छन् ।







