वीरगंज , ८ जेठ –
जिल्ला प्रहरी कार्यालय पर्सा तथा सामुदायिक प्रहरी सेवा अन्तर्गत एलाइड युथ सोसाइटीको आयोजनामा वीरगंजस्थित मुन लाइट सेकेन्डरी स्कुलमा साइबर अपराधसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कक्षा ९ र १० मा अध्ययनरत ८० भन्दा बढी विद्यार्थी सहभागी कार्यक्रममा साइबर सुरक्षा, डिजिटल जिम्मेवारी तथा अनलाइनमार्फत हुने जोखिमबारे जानकारी दिइएको थियो । अन्तरक्रियात्मक शैलीमा सञ्चालन गरिएको कार्यक्रममा विद्यार्थीहरूलाई सुरक्षित र जिम्मेवार डिजिटल नागरिक बन्न प्रेरित गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रम विद्यालयका संस्थापक तथा सञ्चालक श्याम केसीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका निर्देशक सुल्भ केसी, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमको नेतृत्व अंकित झाले गरेका थिए भने जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी निरीक्षक सोनी नेम्हाफुकीले प्रशिक्षण दिएकी थिइन् । प्रमुख अतिथिका रूपमा उपस्थित डिएसपी राजु कार्कीले सामाजिक सञ्जाल तथा इन्टरनेटको दुरुपयोग बढ्दै गएको भन्दै विद्यार्थीहरूलाई सचेत र जिम्मेवार रूपमा डिजिटल माध्यम प्रयोग गर्न आग्रह गरे ।
उनले व्यक्तिगत विवरण सुरक्षित राख्न, अपरिचित लिंक तथा सन्देशप्रति सतर्क रहन र अनलाइन गतिविधिमा विवेकपूर्ण निर्णय लिनुपर्नेमा जोड दिए । साथै प्रविधिको सही प्रयोग गर्दै सकारात्मक तथा सिर्जनात्मक कार्यमा लाग्न युवापुस्तालाई प्रेरित गरे ।
“सुरक्षित, सचेत र साइबर–साक्षर समाज निर्माणतर्फ हामी सबैको साझा प्रयास” भन्ने सन्देशसहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।







