हरिखेतान क्याम्पस समस्याबारे नेवि संघ नेता पटेलको कडा आलोचना

1200x150_1200x150-01.jpg (1)

वीरगंज , ८ जेठ –

नेपाल विद्यार्थी संघ (नेवि संघ) का नेता कृष पटेलले वीरगंजस्थित हरिखेतान बहुमुखी क्याम्पसमा देखिएको समस्याप्रति सरकार र जिल्ला प्रशासन मौन बसेको भन्दै कडा आलोचना गरेका छन् । उनले हालको अवस्थालाई “विद्यार्थीको भविष्यसँग खेलवाड” भएको टिप्पणी गरेका छन् ।

पटेलका अनुसार पर्सा, बारा र रौतहटका हजारौँ विद्यार्थी अध्ययन गर्ने उक्त क्याम्पस विगतदेखि सामुदायिक स्वरूपमा सञ्चालन हुँदै आएको थियो । तर त्रिभुवन विश्वविद्यालयबाट प्राप्त अनुदान रोकिएपछि समस्या झन् जटिल बन्दै गएको उनले बताए ।

उनले पहिले क्याम्पस व्यवस्थापन समितिमा प्रमुख जिल्ला अधिकारीसहित विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहने गरे पनि हाल सीमित व्यक्तिको नियन्त्रणमा समिति पुगेको र शुल्क असुलीलाई प्राथमिकता दिइएको आरोप लगाए ।

पटेलले क्याम्पसमा शिक्षक तथा कर्मचारी ३८ दिनदेखि धर्नामा रहेको, शैक्षिक गतिविधि प्रभावित भएको तथा दैनिक विवादका कारण शान्ति–सुरक्षा समेत कमजोर बनेको उल्लेख गरेका छन् ।

उनले जिल्लाका जनप्रतिनिधि तथा सरकार समस्या समाधानमा गम्भीर नदेखिएको भन्दै आलोचना गरेका छन् । साथै प्रमुख जिल्ला अधिकारीको भूमिकामाथि प्रश्न उठाउँदै तत्काल सरुवाको मागसमेत गरेका छन् ।

नेवि संघ नेता पटेलले क्याम्पसको समस्या समाधानका लागि सरकार, प्रशासन तथा सम्बन्धित निकायले तत्काल वार्ता र पहल सुरु गर्नुपर्ने माग गरेका छन् ।

सम्बन्धित पोस्टहरुः