वीरगंज , ८ जेठ –
सशस्त्र प्रहरी बल, नेपालले पर्सामा जलउत्पन्न विपद् उद्धारसम्बन्धी सेमुलेशन अभ्यास सम्पन्न गरेको छ ।
वीरगंज महानगरपालिका–१४ पिपरा स्थित सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. नजिकको पोखरी क्षेत्रमा अभ्यास सञ्चालन गरिएको हो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अशोक कुमार वम प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
अभ्यासमा सिद्धार्थ माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानीयवासीसहित करिब १५० जनाको सहभागिता रहेको थियो । उद्धारका क्रममा डुबानमा परेका व्यक्तिको खोज तथा उद्धार, उद्धार सामग्रीको प्रयोग, प्राथमिक उपचार र विपद् व्यवस्थापनका उपायबारे व्यवहारिक प्रदर्शन गरिएको थियो ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गणका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहन राज निरौलाका अनुसार कार्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा उद्धार प्रक्रियाबारे स्थानीयलाई जानकारी दिइएको हो ।







