वीरगंज , ८ जेठ –
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको बैठकमा बहुमत प्रदेशसभा सदस्यहरूले उनको पक्षमा मतदान गरेका हुन् ।
मतदानमा मुख्यमन्त्री यादवको पक्षमा ६२ र विपक्षमा ३६ मत परेको थियो । बैठकमा कुल १०० प्रदेशसभा सदस्यहरूको उपस्थिति रहेको थियो ।
एमालेलाई मधेस सरकारमा सहभागी गराएपछि नेपाली कांग्रेससहित एमाले, नेपाली कम्युनिस्ट पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूले यादवलाई समर्थन गरेका थिए ।
यता जसपा नेपालले आफ्ना मन्त्रीहरू बर्खास्त गरिएको र विश्वासको मत औपचारिक रूपमा नलिइएको भन्दै विपक्षमा मतदान गरेको जनाएको छ ।
त्यस्तै जनमत पार्टी र राप्रपाका प्रदेशसभा सदस्यहरूले पनि मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिएको जनाइएको छ ।







