कतारमा मृत्यु भएका वीरगंजका श्रमिकको शव घर आइपुग्यो

1200x150_1200x150-01.jpg (1)

वीरगंज , ८ जेठ –

वीरगंज महानगरपालिका–१२ मुर्ली नयकाटोलाका जसमुद्दीन मन्सुरीको कतारमा कार्यस्थल दुर्घटनामा मृत्यु भएको छ । अढाई महिनाअघि घर धितो राखेर ऋण लिई वैदेशिक रोजगारीका लागि कतार पुगेका मन्सुरीको शव बिहीबार नेपाल ल्याइएको हो ।

काठमाडौं हुँदै शव वीरगंजस्थित घर पुगेपछि परिवारमा शोक छाएको छ । आफन्त र स्थानीयवासीको उपस्थितिमा अन्तिम श्रद्धाञ्जली दिइएको थियो ।

परिवारका अनुसार १२ दिनअघि मन्सुरी कार्यरत ग्याँस ट्याङ्कर मर्मत गर्ने कारखानामा काम गरिरहेका बेला दुर्घटना भएको थियो । मर्मतकै क्रममा ग्याँस ट्याङ्कर विस्फोट हुँदा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

स्थानीय स्रोतका अनुसार उक्त कारखाना आवश्यक सरकारी स्वीकृतिविना सञ्चालनमा रहेको थियो । दुर्घटनापछि कारखाना सञ्चालक मुस्तफा मन्सुरी फरार रहेको जनाइएको छ ।

कानुनी प्रक्रिया र कागजी कार्य पूरा गर्न समय लागेका कारण शव १२ दिनपछि मात्र नेपाल पठाइएको परिवारले जनाएको छ ।

मृतककी पत्नी बिसमिल्लाह खातुनले दुई साना छोराको भविष्यप्रति चिन्ता व्यक्त गर्दै उचित क्षतिपूर्ति र न्यायका लागि सम्बन्धित निकायसँग आग्रह गरेकी छन् ।

स्थानीयवासीले वैदेशिक रोजगारीमा जाने श्रमिकको सुरक्षा सुनिश्चित गर्न तथा कार्यस्थलको प्रभावकारी अनुगमन गर्न सरकारसँग माग गरेका छन् । परिवारले दोषीमाथि कारबाही, कानुनी सहायता र क्षतिपूर्तिको माग गरेको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः