गर्मीले जनजीवन प्रभावित

1200x150_1200x150-01.jpg (1)

नेपालगञ्ज, ९ जेठः बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको छ । दिउँसोपख चरक्क लागेको घाम र तातो हावाका कारण मानिस बाहिर निस्कन नसक्दा यहाँका सडक सुनसान जस्तै देखिन थालेका छन् । गर्मी बढेसँगै उखुको जुस र लस्सी पिउने स्थानमा सेवाग्राहीको घुइँचो बढ्न थालेको हो ।

जल तथा मौसम विभाग कोहलपुरका प्रमुख रामप्रसाद अवस्थीका अनुसार सन् २०१२ जुन १४ मा नेपालगञ्जमा सबैभन्दा बढी ४५ डिग्रीसम्म तापक्रम पुगेको थियो । पछिल्लो समय तराईका जिल्लामा अत्यधिक गर्मी बढदै गएको छ । यसले सबैभन्दा बढी विद्यालयका बालबालिका, दैनिक काम गर्ने श्रमिक बढी प्रभावित भएका उहाँले बताउनुभयो ।

मौसम विभागका प्रमुख अवस्थीले आज साँझ ३८ देखि ४० डिग्री सेल्सियससम्म तापक्रम पुग्ने पूर्वानुमान गर्दै दिउँसो २ः०० देखि ५ः४५ बजेसम्मको तापक्रमलाई आधार मानी पूर्वानुमान गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले बिहीबार यस वर्षको सबैभन्दा बढी ४१ दशमलव पाँच डिग्री सेल्सियस तापक्रम पुगेको जनाउँदै जेठ ४ गते यतादेखि तापक्रम निरन्तर बढिरहेको बताउनुभयो ।

प्रमुख अवस्थीले तातो दिन, अधिक तातो दिन र अत्यधिक तातो दिनका रूपमा तापक्रमअनुसार वर्गीकरण गरिने उल्लेख गर्दै कोहलपुरबाहेक राँझा विमानस्थल र खजुरा स्टेसनबाट लिइएको तापक्रमअनुसार निर्क्यौलमा पुगिने जानकारी दिनुभयो । “एक दिन गर्मी हुँदा अर्को दिन अलि कम हुने अवस्था पनि देखिएको छ तर गर्मी बढ्दै गएको छ”, उहाँले भन्नुभयो ।

गर्मीले जनजीवन प्रभावित बनाइरहेका बेला विद्युत् आपूर्तिमा समेत कठिनाइ झेल्नुपर्दा यस क्षेत्रका स्थानीयले सास्ती खेपिरहनुपरेको छ । विद्युत् आपूर्ति भए पनि कम (लो) भोल्टेजका कारण घर तथा कार्यालयमा पङ्खा राम्ररी चल्न सकेका छैनन् भने पानी तान्ने मोटरलगायत उपकरण बिग्रिएका नेपालगञ्ज-९ का शिवदत्त भट्टले बताउनुभयो । उहाँले विद्युत् आपूर्ति नियमित नहुँदा धेरै सास्ती झेल्नु परेको उल्लेख गर्दै बर्सेनि देखिने यस्तो समस्या शीघ्र समाधान गर्न आग्रह गर्नुभयो ।

विद्युत् प्राधिकरण केन्द्र नेपालगञ्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर सञ्जयकुमार मिश्राले कोहलपुर ग्रिड शाखाबाट प्रसारण हुने विद्युत्मा लोड (भार) भएकाले त्यसको असर नेपालगञ्जको विद्युत् लाइनमा परेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “व्यक्तिगत रूपमा दिनरात नियमित विद्युत् आपूर्तिको पक्षमा पहल गरिरहेको छु । तर कोहलपुर ग्रिड शाखाबाट सबस्टेसनमा वितरण हुने विद्युत् ‘लो भोल्टेज’को भएकाले समस्या देखिएको हो ।”

इन्जिनियर मिश्राले कोहलपुर ग्रिडको १३२/३३ केभी प्रसारण लाइनमा देखिएको समस्या दीर्घकालीन रूपमा समाधानका लागि जानकीको बकसपुरमा निर्माणाधीन प्रसारण लाइनको काम सम्पन्न भएपछि हुने बताउँदै योसँगै नेपालगञ्जमा देखिएको विद्युत्को समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस क्षेत्रको विद्युत् आपूर्ति सहज बनाउन अहिलेसम्म आठ वटा विद्युत् ट्रान्सफर्मर परिवर्तन गरिएको जानकारी दिनुभयो । “जहाँ समस्या देखिएको छ, त्यहाँ नयाँ फिडरको व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो ।

पश्चिम नेपालका छ जिल्लामा अत्यधिक गर्मीको सम्भावना
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि सोमबारसम्म पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा तीन दिनसम्म अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी भई अत्यधिक गर्मी हुने सम्भावना रहेको प्राधिकरणद्वारा आज जारी सूचनामा जनाइएको छ । ती प्रदेशको तराईका भू-भागमा मध्यम तातो लहरको सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर जिल्लालाई सतर्कता तथा यस्तै कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडीलाई अद्यावधिक रहनुपर्ने जिल्लाको सूचीमा राखेको छ ।

अत्यधिक गर्मी र तातो हावाको लहरका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीरसम्म असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ । प्राधिकरणले विपद् सम्बद्ध सबै निकायलाई आवश्यक पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागद्वारा शुक्रबार जारी तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिनमा जेठ ६ गतेदेखि तराई केही भू-भागमा तापक्रम तीव्र रूपमा बढेको जनाइएको छ । अत्यधिक गर्मीका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांशपेसीहरु दुख्ने, बान्ता हुनेलगायत स्वास्थ्य समस्या देखिनसक्ने चिकित्सकको भनाइ छ ।

तातो हावाको लहरबाट बच्न चर्को घाम लागेका बेला वा दिउँसोको समयमा सकभर घरभित्रै बस्न, बाहिर निस्कनै परे छाटा ओढ्न वा पातलो कपडाले टाउको ढाक्न प्राधिकरणले आग्रह गरेको छ । यस्तै खुकुलो, शीलत हुने हल्का रङको कपडा लगाउने, पानी धेरै पिउने, बेलाबेलामा चिसो पानीले नुहाउने, धेरै चिनी नहालेको सर्वत, कागती पानी र फलफूल खाने, धेरै पसिना आएमा जीवनजल पिउन प्राधिकरणले अनुरोध गरेको छ ।

घरमै बनाएको ताजा खानेकुरा खान, सकेसम्म पत्रु खाना (जङ्क फुड) नखान, खेतबारीमा वा बाहिर काम गर्दा बिहान गर्मी बढ्नुअघि वा दिउँसो शीतल फर्केपछि मात्रै गर्न, बालबालिकालाई चर्को घाममा खेल्न जान नदिन प्राधिकरणद्वारा आज जारी सतर्कतासम्बन्धी सूचनामा उल्लेख छ ।

सम्बन्धित पोस्टहरुः