वीरगन्ज, १२ जेठ । कानुन कार्यान्वयन र सुरक्षा निकायको क्षमता अभिवृद्धिमा सहयोग पुऱ्याउने उद्देश्यले भारत सरकारले नेपाललाई १० वटा कैदी बोक्ने ट्रक उपहार स्वरूप प्रदान गरेको छ। वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासमा आयोजित एक औपचारिक कार्यक्रमका बीच महावाणिज्यदूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ती सवारी साधनहरू औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो।

गाडी बुझ्दै प्रमुख जिल्ला अधिकारी दाहालले भारतीय पक्षबाट प्राप्त यस सहयोगका लागि विशेष धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले नेपाल र भारतबीच लामो समयदेखि चल्दै आएको व्यापक, बहुआयामिक र पारस्परिक हितका क्षेत्रमा भइरहेको सहकार्यको उच्च प्रशंसा गर्नुभयो। भारतबाट प्राप्त यी गाडीहरूले नेपालको कानुन प्रवर्तनसँग सम्बन्धित क्षमतालाई थप सुदृढ र व्यवस्थित बनाउन सघाउ पुऱ्याउने विश्वास व्यक्त गरिएको छ।

यस वर्षको अघिल्ला दिनहरूमा पनि भारत सरकारले नेपाल सरकारको अनुरोधमा निर्वाचन कार्यलाई सघाउन ठुलो परिमाणमा सवारी साधन सहयोग गरेको थियो। गत ५ मार्च २०२६ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनका लागि भारतले एसयूभी, पिकअप र ट्रकसहित करिब ६४० वटा सवारी साधन उपहार स्वरूप उपलब्ध गराएको थियो। विगतका वर्षहरूमा समेत भारत सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना लगायतका सुरक्षा निकायहरूलाई दुई हजारभन्दा बढी सवारी साधनहरू प्रदान गरिसकेको छ।

भारतीय महावाणिज्य दूतावासका अनुसार भारतबाट भइरहेको यस प्रकारको निरन्तर सहयोग र समर्थनले दुवै देशबीच रहेको बहुक्षेत्रीय विकास साझेदारीलाई प्रगाढ बनाउँदै लगेको छ। यो सहयोग केवल सरकारी स्तरमा मात्र सीमित नभएर नेपाल र भारतका जनताबीच रहेको गहिरो पारस्परिक विश्वास, आत्मीयता र ऐतिहासिक मित्रताको बलियो प्रतीकका रूपमा समेत रहेको दूतावासले जनाएको छ।







