द्रुतमार्गको ४८ प्रतिशत काम सकियो, खोकनाको जग्गा मुख्य चूनौती

1200x150_1200x150-01.jpg (1)

राधेश्याम पटेल, वीरगंज,१२ जेठ –

तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) राष्ट्रिय गौरव आयोजनाको रुपमा चिनिन्छ। यो आयोजनाको झण्डै आधा अर्थात ४८ प्रतिशत काम सम्पन्न भएको छ। आयोजना प्रमुख तथा नेपाली सेनाका रथी धर्मेन्द्रकुमार झाका अनुसार आयोजनाको हालसम्म ४७.५६ प्रतिशत भौतिक तथा ४७.४५ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ। आयोजनाको कुल लागत रु २ खर्ब ११ अर्व ९३ करोड रहेकोमा हाल सम्म रु.८६ अर्व रकम खर्च भइसकेको छ ।

बारा, पर्सा र मकवानपुरका सञ्चारकर्मीहरु र नेपाली सेनाको टोलीले संयुक्त रुपमा द्रुतमार्गको सोमबार सम्पन्न स्थलगत अनुगमनको क्रममा उनले यस्तो बताएका हुन्। अनुगमनका क्रममा आयोजना प्रमुख एंव रथी झाले द्रुतमार्ग निर्माणको काम तीव्र गतिमा भइरहेको बताए ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार ७०.९७७ किलोमिटर लम्बाइ रहेको द्रुतमार्ग(एक्सप्रेसवे) एशियन हाइवे डिजाइन स्ट्यान्डर्ड (प्राइमरी क्लास ‘ए’) अनुसार निर्माण भइरहेको छ। आयोजना अन्तर्गत ७ स्थानमा १०.९७९ किलोमिटर लम्बाइका ट्विन (दुईतर्फी) टनेल(सुरुङमार्ग) निर्माण भइरहेका छन्। ८९ स्थानमा पुल निर्माणको काम जारी रहेको छ।

हालसम्म सुरुङमार्गतर्फ ६.४ किलोमिटर खन्ने कार्य सम्पन्न भएको छ। दुई स्थानमा ‘ब्रेकथ्रु’ सम्पन्न भइसकेको छ भने ३.४ किलोमिटर लामो अर्को सुरुङको ‘ब्रेकथ्रु’ असार महिनाभित्र गर्ने लक्ष्य रहेको सेनाले जनाएको प्राविधिक सेनानी निराजन थापा बताउँछन् । त्यस्तै,४ किलोमिटर सुरुङमा लाइनिङको काम सम्पन्न भइसकेको उनले जानकारी दिए।

पुल निर्माणतर्फ ८९ मध्ये १६ वटा पुलको ‘सुपरस्ट्रक्चर’ निर्माण सम्पन्न भएको छ। सडक निर्माणतर्फ ४७.११३ किलोमिटर क्षेत्रमा काम भइरहेको छ। ७ किलोमिटर ‘सर्भिस लेन’ कालोपत्रे भइसकेको नेपाली सेनाका प्रवक्ता सहायक‌ रथी वस्नेत बताउँछन्।

आयोजनाको शुरु लागत भ्याट बाहेक रु २ खर्ब १३ अर्ब ९५ करोड रुपैयाँ रहेकामा परिमार्जित लागत भ्याटसहित रु २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ कायम गरिएको छ।लागतमा रु. २ अर्ब २ करोड रुपैयाँ घटाइएको योजना प्रमुख झाले जानकारी दिए । उनका अनुसार द्रुतमार्गमा ३ वटा इन्टरचेन्ज (खोकना, बुदुने र निजगढ), ३ वटा टोल प्लाजा (बुंगमती, बुदुने र निजगढ) तथा बुदुनेमा दुबै लेनमा २ वटा विश्रामस्थल निर्माण हुनेछन्।

आयोजना अन्तर्गत कुल ७ स्थानमा सुरुङमार्ग निर्माण भइरहेको छ। यी सुरुङहरूको एकतर्फी कुल लम्बाइ १०.९७९ किलोमिटर र दुईतर्फी लम्बाइ २१.९५८ किमी रहेको आयोजना प्रमुख रथी धर्मेन्द्र झाले जनाए । द्रुतमार्गमा देवीचौर (१ किमी), सिसौटार (०.३९ किमी), चन्द्राम भीर (२.२३७ किमी), महादेवडाँडा (३.४५५ किमी), घेद्रे (१.६९१ किमी), लेनडाँडा (१.६२३ किमी) र मौरीभीर (०.५८३ किमी) गरी सात वटा सुरुङ रहेका छन्।

आयोजना सम्पन्न भएपछि काठमाडौंदेखि निजगढसम्मको यात्रा समय करिब १ घण्टा २ मिनेटमा सीमित हुने विश्वास गरिएको आयोजना प्रमुख झाले बताए । उनका अनुसार आयोजना २०८३ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। नेपाली सेनाले हाल ११ क्लस्टर मार्फत ६५ किलोमिटर क्षेत्रमा निर्माण कार्य अघि बढाइरहेको उनी बताउँछन् ।

त्यस्तै आयोजनाका लागि हालसम्म ५५ हजार ३०४ रुख कटान गरिएको छ। क्षतिपूर्तिस्वरूप ७ लाख ५ हजार ५१२ वटा विरुवा वृक्षारोपण र करिब ५ हजार ८६ हेक्टरमा उक्त वृक्षारोप गरिएको आयोजना प्रमुख झाले जानकारी दिए। आउँदो चैत मसान्त सम्म आयोजना सम्पन्न गर्नु पर्ने म्याद रहेकोमा द्रुतमार्गको जिरो पोइन्ट ललितपुरको खोकनामा साढे ६ किमी. लम्बाईको जग्गा प्राप्तिमा ढिलाईले समयमा द्रुतमाग सम्पन्न हुने अवस्था न्यून देखिन्छ। साथै,यो बाटो नेपालमै नौलो किसिमको डिजाइन,जटिल संरचनासहितको एक्सप्रेसवे भएकोले अपेक्षाभन्दा बढि समय लाग्न गएको हो ।

जग्गा प्राप्ति , निति,नियमको कार्यान्वयनमा सहजता एंव सरोकारवालाहरुको सहयोग प्राप्त भएमा चाडै द्रुतमार्गको काम सम्पन्न हुने जनाइएको छ । परियोजनामा कोरियन यूसिन जेभी कम्पनीले परामर्शदाताको रुपमा र बिभिन्न १२ वटा विदेशी ठेकेदारले काम गरिरहेको जनाइएको छ । यो मार्ग निर्माणपछि तराई-मधेश र समग्र देशकै आर्थिक गतिविधिमा सकारात्मक परिवर्तन भई देश समृद्धितर्फ उन्मुख हुने विश्वास गरिएको छ ।

आयोजनाको विकासक्रम
-नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय:२०७४/०१/२१
-परामर्शदातासँग सम्झौता:२०७७/०२/०२
-७ वटा प्याकेजको खरिद सम्झौता:२०७८ जेठदेखि २०७९/१०/१९ सम्म
-पाँचवटा प्याकेजको खरिद सम्झौता:२०८० पौषदेखि २०८० चैतसम्म
-डिपिआर तयार २०७५/०६/१६ देखि २०७५/१०/१९ सम्म
-डिपिआर मन्त्रिपरिषदबाट स्वीकृत:२०७६/०५/०१
-डिपिआर प्रथम संशोधन:२०८०/०४/३

-डिपिआर दोस्रो संशोधन:२०८१/०७/२५

सम्बन्धित पोस्टहरुः