सनलाइट स्कुलमा साइबर अपराध सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

1200x150_1200x150-01.jpg (1)

वीरगन्ज, जेठ १३ । सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलले वीरगन्ज–१९ नगवास्थित सनलाइट स्कुलमा साइबर अपराध सम्बन्धी एक दिवसीय जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। ‘प्रहरी सामुदायिक साझेदारी’ अन्तर्गत वडा प्रहरी कार्यालय बिर्ताको सहयोगमा कक्षा १० का विद्यार्थीहरूका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो।

सामुदायिक प्रहरी कुम्हालटोलका सल्लाहकार मार्टिन मोक्तानको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका सहायक प्रहरी निरीक्षक (सप्रनी) राम बिनेश कुमार यादव प्रमुख अतिथि एवं प्रशिक्षकका रूपमा रहनुभएको थियो। कार्यक्रममा वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, स्कुलका कोर्डिनेटर रंगराजन चौरसिया, रवि चौरसिया, सामुदायिक प्रहरीका उपाध्यक्ष सन्जु दाहाल, सल्लाहकार सुशील वर्णवाल र सचिव श्रवण बहादुर रायमाझी लगायतको उपस्थिति रहेको थियो।

प्रशिक्षणका क्रममा सप्रनी यादवले वृत्तचित्र र सचेतनामूलक नाराहरू प्रदर्शन गर्दै साइबर अपराधले निम्त्याउने मानसिक, सामाजिक तथा आर्थिक जोखिम र यसको कानुनी सजायबारे विद्यार्थीहरूलाई विस्तृत जानकारी दिनुभयो। उहाँले सामाजिक सञ्जालको बढ्दो दुरुपयोगबाट जोगिन र यसबारे आफ्नो घरपरिवार एवं छरछिमेकलाई समेत सचेत गराउन आग्रह गर्नुभयो।

सोही अवसरमा साइबर अपराध विषयमा आयोजित संक्षिप्त वक्तृत्वकला प्रतियोगितामा ११ जना विद्यार्थीहरूले आ-आफ्नो धारणा राखेका थिए। प्रतियोगितामा प्रथम हुन सफल छात्र कृष्ण कुशवाहालाई प्रमुख अतिथि यादवले मायाको चिनो प्रदान गरी सम्मानित गर्नुभयो। कार्यक्रमको सहजीकरण सचिव श्रवण बहादुर रायमाझीले गर्नुभएको थियो भने स्कुलका सह-कोर्डिनेटर रेडम बानियाले प्रहरी टोली र अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।

सम्बन्धित पोस्टहरुः