वीरगंज, १४ जेठ –
मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभर श्रद्धा र उल्लासका साथ मनाइँदै छ। पर्वको अवसरमा बिहानैदेखि मस्जिद तथा इदगाहहरूमा सामूहिक नमाज अदा गर्ने र एकापसमा शुभकामना आदानप्रदान गर्ने क्रम चलिरहेको छ।
काठमाडौंस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिदहरूमा मुस्लिम समुदायको उल्लेखनीय उपस्थिति देखिएको छ। धार्मिक मान्यताअनुसार अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइललाई कुर्बानी दिन तयार भएको सम्झनामा यो पर्व मनाइने गरिन्छ।
मुस्लिम धर्मगुरुहरूका अनुसार बकर इदको मुख्य विशेषता कुर्बानी हो। यस अवसरमा धार्मिक विधिअनुसार जायज जनावरको कुर्बानी दिइन्छ। कुर्बानीको मासु तीन भागमा बाँडी एक भाग गरिब तथा विपन्नलाई, अर्को आफन्त तथा इष्टमित्रलाई र तेस्रो भाग आफ्ना लागि राख्ने परम्परा रहेको छ।
मुस्लिम समुदायले आजदेखि तीन दिनसम्म यो पर्व मनाउनेछन्। पर्वका अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ।







