वीरगंज, १४ जेठ –
बंगलादेश सरकारले इदको अवसरमा बलि दिन लागिएको ‘डोनाल्ड ट्रम्प’ नामले चर्चित सेतो भैंसीको बलिमा प्रतिबन्ध लगाएको छ। सामाजिक सञ्जालमा अत्यधिक चर्चित बनेपछि सरकारले उक्त दुर्लभ भैंसीलाई उद्धार गरी ढाकास्थित राष्ट्रिय चिडियाखानामा राखेको हो।
नारायणगञ्जस्थित राबेया एग्रो फार्ममा पालिएको करिब ७०० किलो तौलको भैंसी ३ लाख रुपैयाँभन्दा बढी मूल्यमा बिक्री भइसकेको थियो। भैंसीको टाउकोमा रहेको सुनौलो रौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कपाल शैलीसँग मिल्ने भएकाले मानिसहरूले मजाकमा ‘डोनाल्ड ट्रम्प’ नाम दिएका थिए।
भैंसी हेर्न ठूलो भीड लाग्न थालेपछि सुरक्षाको चुनौती बढेको भन्दै बंगलादेश सरकारले बलिदान रोक्ने निर्णय गरेको जनाएको छ। गृह मन्त्रालयले भैंसी किन्ने व्यक्तिलाई रकम फिर्ता गरिने पनि बताएको छ।
चार वर्ष उमेरको उक्त भैंसी अल्बिनो प्रजातिको भएको जनाइएको छ। सेतो–गुलाबी रंगका कारण यस्ता भैंसी अत्यन्त दुर्लभ मानिन्छन्। अहिले भैंसीलाई राष्ट्रिय चिडियाखानामा विशेष निगरानीसहित राखिएको छ।







