मानवअधिकार आयोग प्रतिवेदनबारे सरकारको धारणा माग्दै कांग्रेस

1200x150_1200x150-01.jpg (1)

वीरगंज, १४ जेठ –

नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनबारे सरकारसँग आधिकारिक धारणा माग गरेको छ।

कांग्रेसले सुशीला कार्की नेतृत्वको सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अधुरो, अपूर्ण र सीमित रहेको निष्कर्ष निकाल्दै मानव अधिकार आयोगको प्रतिवेदन पनि अपर्याप्त रहेको टिप्पणी गरेको छ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा आयोगकै अध्यक्षमाथि समेत सूक्ष्म अनुसन्धान गर्नुपर्ने उल्लेख भएको भन्दै सो विषयले आयोगको निष्पक्षतामाथि प्रश्न उठेको दाबी गरिएको छ।

कांग्रेसले जेनजी आन्दोलनका क्रममा भएको हिंसा, तोडफोड, आगजनी, लुटपाट तथा जनधनको क्षतिमा संलग्न जो–कोहीमाथि निष्पक्ष रूपमा कानुनी कारबाही हुनुपर्ने माग गरेको छ। साथै राज्यले अत्यधिक बल प्रयोग गरेको विषयमा पनि छानबिन आवश्यक रहेको बताइएको छ।

विज्ञप्तिमा घाइते तथा मृतकका परिवारलाई उचित क्षतिपूर्ति, राहत र पुनर्स्थापनाको व्यवस्था गर्न, साथै सुरक्षा निकायलाई मानव अधिकारमैत्री बनाउन आवश्यक सुधार गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।

कांग्रेसले आयोगको सिफारिसबारे सरकारले तत्काल आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने र दोषी देखिएका सबैमाथि राजनीतिक दबाबबिना कानुनी कारबाही अघि बढाउनुपर्ने माग गरेको छ।

सम्बन्धित पोस्टहरुः