वीरगंज, १४ जेठ –
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको आयोजना तथा पर्सा शाखाको समन्वयमा वीरगञ्जस्थित होटेल भिस्वामा एकदिने “रेडक्रस एमर्जेन्सी क्लिनिक ” (कृत्रिम घटनामा आधारित अभ्यास) कार्यक्रम सम्पन्न भएको छ।
हालै विभिन्न क्षेत्रमा देखिएको कोलेरा महामारीलाई ध्यानमा राख्दै महामारीको समयमा अपनाउनुपर्ने सतर्कता, प्राथमिक उपचार, सरसफाइ तथा आपतकालीन व्यवस्थापनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा कृत्रिम घटनाको अभ्यासमार्फत महामारी फैलिएको अवस्थामा रेडक्रसकर्मी, स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूले उद्धार, प्राथमिक उपचार, बिरामीको सुरक्षित स्थानान्तरण, समन्वय तथा जनचेतनामूलक गतिविधि कसरी सञ्चालन गर्ने भन्ने विषयमा व्यावहारिक प्रदर्शन गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेलले विपद् तथा महामारीको समयमा समुदायस्तरमै प्रभावकारी सेवा प्रवाह गर्न यस्ता अभ्यासमूलक कार्यक्रम उपयोगी हुने बताए। उनले रेडक्रस मानवीय सेवामा निरन्तर सक्रिय रहँदै आएको उल्लेख गर्दै आपतकालीन अवस्थाको सामना गर्न स्वयंसेवक र स्वास्थ्यकर्मीलाई सधैं तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिए।
त्यस्तै नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका प्रतिनिधि तथा कार्यक्रम संयोजक टिकाराज पौडेलले महामारी नियन्त्रणका लागि समुदायस्तरमै चेतना र पूर्वतयारी आवश्यक रहेको बताए। उनले व्यक्तिगत सरसफाइ, स्वच्छ खानेपानीको प्रयोग तथा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना अनिवार्य रहेको उल्लेख गर्दै यस्ता अभ्यासले विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने बताए।
कार्यक्रममा केन्द्रीय कार्यालय, जिल्ला शाखाका पदाधिकारी, रेडक्रसकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले महामारी तथा विपद् व्यवस्थापनका क्रममा देखिने चुनौती र अनुभवबारे पनि आ–आफ्ना धारणा राखेका थिए।
आयोजकका अनुसार यस्तो अभ्यासले महामारी तथा विपद्को समयमा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका उपायबारे समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै स्थानीय तहको तयारी र क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।










