पर्सा – नेपाल पत्रकार महासंघ पर्सामा सदस्यता शुद्धिकरण तथा नयाँ सदस्यता वितरणको माग गर्दै जारी आन्दोलन थप सशक्त बनाइने भएको छ। दुई दिनदेखि जारी धर्ना कार्यक्रमप्रति महासंघ पर्साले बेवास्ता गरेको आरोप लगाउँदै पत्रकार संघर्ष समितिले भोलि शुक्रबार बिहान ११ बजे महासंघको मूल गेटमा तालाबन्दी गर्ने निर्णय गरेको जनाएको छ।
संघर्ष समितिका संयोजक अनुप तिवारी ले आन्दोलनरत पक्षको मागप्रति नेपाल पत्रकार महासंघ पर्साले कुनै चासो नदेखाएको तथा शुद्धिकरण प्रक्रिया र नयाँ सदस्यता वितरणको विषयमा ठोस पहल नगरेको आरोप लगाउनुभयो।
उहाँका अनुसार महासंघभित्र सदस्यता सम्बन्धी विवाद, अपारदर्शिता तथा निष्पक्षताको अभाव देखिएको भन्दै पत्रकारहरू आन्दोलनमा उत्रिन बाध्य भएका हुन्। “हाम्रा माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ, साथै तालाबन्दी कार्यक्रम पनि निरन्तर अघि बढाइनेछ,” संयोजक तिवारीले बताउनुभयो।
संघर्ष समितिले महासंघको सदस्यता प्रणाली पारदर्शी बनाउन, वास्तविक क्रियाशील पत्रकारलाई समेट्न तथा नयाँ सदस्यता वितरण प्रक्रिया निष्पक्ष ढंगले अघि बढाउन माग गर्दै आएको छ।
यसअघि समितिले महासंघ कार्यालयमा दैनिक धर्ना कार्यक्रम सञ्चालन गर्दै आएको थियो। अब आन्दोलनलाई थप दबाबमूलक बनाउने रणनीति अन्तर्गत तालाबन्दीको घोषणा गरिएको संघर्ष समितिले जनाएको छ।







