आज गणतन्त्र दिवस मनाइँदै : प्रधानमन्त्री शाह सम्बोधन नगर्ने

1200x150_1200x150-01.jpg (1)

वीरगंज, १५ जेठ –

नेपालमा आज १७औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।

२०६५ साल जेठ १५ गते पहिलो संविधानसभाको बैठकले २४० वर्षे राजतन्त्र अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ।

दिवसका अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना गरिएको छ। कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका अधिकारी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ। समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ।

यसअघि बिहान नेपाली सेनाले गणतन्त्र दिवसको स्वागतमा तोप पड्काएको थियो।

यस वर्ष भने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले टुँडीखेल समारोहमा सम्बोधन नगर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार गणतन्त्रको प्रतीक राष्ट्रपति भएकाले राष्ट्रपतिलाई नै सम्बोधन गर्न आग्रह गरिएको हो। प्रधानमन्त्री समारोहमा सहभागी भने हुनेछन्।

नेपालमा २०६२/६३ को जनआन्दोलनपछि राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापना भएको थियो। तत्कालीन सात दल र माओवादीबीच भएको १२ बुँदे समझदारीपछि आन्दोलनले गति लिएको थियो। त्यसपछि पुनर्स्थापित संसद्, शान्ति प्रक्रिया र संविधानसभा निर्वाचनमार्फत नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण भएको हो।

पहिलो संविधानसभाले २०६५ जेठ १५ गते राजसंस्था अन्त्यको घोषणा गरेको थियो भने दोस्रो संविधानसभाले २०७२ असोज ३ गते नयाँ संविधान जारी गरेको थियो। हाल नेपालमा संघीय, प्रदेश र स्थानीय तहका सरकार संविधानअनुसार सञ्चालन भइरहेका छन्।

सम्बन्धित पोस्टहरुः