अन्तिम यात्रामा पनि टुटेन मित्रता: दुई अभिन्न मित्रद्वारा आँखाको नानी दान

1200x150_1200x150-01.jpg (1)

भनिन्छ, सच्चा मित्रता जीवनभर मात्र होइन, मृत्युपछि पनि कायम रहन्छ। यस्तै एउटा अनुपम र प्रेरणादायी उदाहरण वीरगञ्जमा देखिएको छ। दैनिक बिहानीको यात्रामा सँगै हिँड्ने, सुख-दुःख साट्ने र एउटै लयमा जीवनलाई बुझेका दुई आत्मीय मित्र— ८६ वर्षीय लक्ष्मण बहादुर श्रेष्ठ र ७७ वर्षीय शङ्कर लाल सरावगीको जेठ १३ गते (२७ मे २०२६) एकै दिन निधन भएको छ। हिजोसम्म सँगै गफिँदै हिँड्ने यी दुवै प्रगाढ मित्रहरूले आज यो संसारबाट एकैसाथ बिदा लिएका छन्, जसले सम्पूर्ण वीरगञ्जवासीलाई स्तब्ध बनाएको छ।

तर, यो भौतिक संसारबाट बिदा भइरहँदा पनि उहाँहरूले आफ्नो मित्रता र मानवतालाई अमर बनाउनुभएको छ। जीवनको अन्तिम पलमा पनि समाजका लागि केही गर्ने पवित्र उद्देश्यका साथ दुवै महान् आत्माहरूले आफ्नो आँखाको नानी (कर्निया) दान गर्नुभएको छ। उहाँहरूको यो महादानले अब दृष्टिविहीनहरूको जीवनमा उज्यालो छर्ने निश्चित छ।

यस दुःखद घडीमा उहाँहरूको इच्छालाई साकार पार्दै सफलतापूर्वक आँखाको कर्निया सङ्कलन गर्न सहयोग पुर्‍याउने आर. एम. केडिया आँखा अस्पताल र तेरापन्थ युथ कमिटी, वीरगञ्ज प्रति हार्दिक आभार व्यक्त गर्दछौँ। विशेष गरी अस्पतालका अब्थाल्मिक अफिसर हरिकान्त साह र अब्थाल्मिक असिस्टेन्ट अनु सराफको सक्रिय टोली तथा तेरापन्थ युथ कमिटीका सम्पूर्ण सदस्यहरूप्रति कृतज्ञता ज्ञापन गर्दछौँ, जसको तत्परता र सक्रियताका कारण नै यो पवित्र कार्य सम्भव हुन सक्यो।

दिवङ्गत दुवै आदरणीय व्यक्तित्वहरूको आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै, शोक सन्तप्त दुवै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ। उहाँहरूले छोडेर जानुभएको यो मानवीय गुण र सत्कर्म सधैँ प्रेरणाको रूपमा जीवित रहनेछ।

भर्खरै

सम्बन्धित पोस्टहरुः