वीरगंज , जेठ १६ –
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत साना तथा मझौला उद्योगी तथा व्यवसायीलाई लक्षित गर्दै कर सम्बन्धी विशेष राहत घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रशासनलाई सरल बनाउने र व्यवसायलाई औपचारिक अर्थतन्त्रमा ल्याउने उद्देश्यसहित विभिन्न छुट तथा सहुलियतका व्यवस्था सार्वजनिक गर्नुभएको हो ।
नयाँ व्यवस्थाअनुसार मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भए पनि कर विवरण बुझाउन नसकेका व्यवसायीले २०८३ पुस मसान्तभित्र बाँकी कर र त्यसको १ प्रतिशत अतिरिक्त रकम बुझाएमा सम्पूर्ण ब्याज, जरिवाना तथा थप दस्तुर मिनाहा हुनेछ । यस्तै व्यवस्था अन्तःशुल्कमा पनि लागू गरिएको छ ।
यसअघि कर विवरण नबुझाउँदा मासिक एक हजार रुपैयाँ जरिवाना, बाँकी करमा १५ प्रतिशत ब्याज तथा थप शुल्क तिर्नुपर्ने व्यवस्था थियो । अब भने मुख्य कर रकम र १ प्रतिशत अतिरिक्त रकम बुझाएपछि ती सबै दायित्वबाट छुट पाइनेछ ।
सरकारले वर्षौंदेखि कर विवादमा रहेका उद्योगी–व्यवसायीलाई पनि राहत दिएको छ । विवादित कर रकम र १ प्रतिशत थप शुल्क बुझाएर मुद्दा फिर्ता लिएमा सम्पूर्ण ब्याज तथा जरिवाना मिनाहा हुने व्यवस्था गरिएको छ । यसबाट अदालत तथा पुनरावलोकन प्रक्रियामा रहेका कर विवाद समाधान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्था तथा गैरआवासीय व्यक्तिहरूले २०८३ पुस मसान्तभित्र आर्थिक वर्ष २०८२/८३ को आय विवरण बुझाएमा अघिल्ला वर्षका कर, ब्याज र जरिवाना तिर्नु नपर्ने व्यवस्था पनि बजेटमा समावेश गरिएको छ ।
त्यस्तै, दूधबाट उत्पादन हुने पनिरमा विगतमा बिक्री भएको तर असुल नभएको भ्याटसमेत मिनाहा गरिएको छ । सरकारले यसलाई कृषि तथा डेरी क्षेत्रलाई राहत दिने कदमका रूपमा प्रस्तुत गरेको छ ।
बजेटमा निष्क्रिय प्यानधनीलाई सहज रूपमा प्यान खारेज वा पुनः सञ्चालन गर्ने सुविधा दिइएको छ । विगतमा प्यान नलिई कारोबार गरेका व्यक्तिहरूले पनि अब प्यान लिएर आर्थिक वर्ष २०७९/८० देखि विवरण बुझाए पुग्ने व्यवस्था गरिएको छ ।
उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरूले नयाँ व्यवस्थाले हजारौं साना तथा मझौला उद्योगलाई पुनः औपचारिक अर्थतन्त्रमा फर्किन सहयोग पुग्ने बताएका छन् । उच्च जरिवाना र ब्याजका कारण व्यवसाय सञ्चालनमा कठिनाइ भोगिरहेका उद्योगीलाई यसले राहत दिनुका साथै बैंकिङ पहुँच विस्तार र लगानी वातावरण सुधारमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।







