कोलकाता (भारत), जेठ १७ । दक्षिण एसियाली क्षेत्रीय पत्रकारिताको विकास, अन्तर्राष्ट्रिय सहकार्य तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले भारतको कोलकातामा आयोजित “स्मरण उदन्त मार्तण्ड एवं सम्मान समारोह–२०२६” मा नेपालका १३ जना पत्रकार सम्मानित भएका छन्। सार्क जर्नलिस्ट फोरम इन्टरनेशनल भारत च्याप्टरद्वारा कोलकातास्थित गर्ल्स कलेजमा आयोजित सम्मेलनमा उनीहरूलाई पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान–पत्र र मायाको चिन्ह प्रदान गरिएको हो।
सम्मानित हुनेहरूमा पर्साका सञ्चारकर्मी एवं ‘फेमस नेपाल सन्देश’ का प्रकाशक शैलेश साह कानु, रौतहटका पत्रकार चन्दन कुमार महतो, सार्क जर्नलिस्ट फोरम नेपाल च्याप्टर मधेश प्रदेशका अध्यक्ष सदाब मलिक, रूद्र सुवेदी, सतेन्द्र साह लगायत हुनुहुन्छ। पर्साका पत्रकार कानुले लामो समयदेखि स्थानीय गतिविधि, सामाजिक सरोकार र जनचासोका विषयमा निरन्तर कलम चलाउँदै आउनुभएको छ भने महतो ‘सीएच खबर’ का सञ्चालकका रूपमा क्रियाशील हुनुहुन्छ।
नेपाल, भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स तथा अस्ट्रेलियालगायतका मुलुकबाट करिब १०० जना पत्रकारहरूको सहभागिता रहेको उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा डिजिटल सञ्चार माध्यमको प्रभाव, अभिव्यक्ति स्वतन्त्रता र सार्क राष्ट्रहरूबीच सञ्चार सहकार्यका विविध विषयमा छलफल भएको थियो।







