वीरगंज , जेठ १७ –
अमेरिकामा गरिएको एक अध्ययनले मोबाइलको अत्यधिक प्रयोगका कारण किशोर–किशोरीहरूमा ढिलो सुत्ने बानी बढ्दै गएको देखाएको छ ।
युनिभर्सिटी अफ क्यालिफोर्नियाको नेतृत्वमा गरिएको अध्ययनअनुसार सहभागी आधाभन्दा बढी किशोर–किशोरीले सुत्नुअघि कम्तीमा एक घण्टा मोबाइल प्रयोग गर्ने गरेका छन् । यसले उनीहरूको निद्रा, मानसिक स्वास्थ्य तथा अध्ययनमा नकारात्मक असर पारिरहेको जनाइएको छ ।
प्रतिवेदनमा पर्याप्त निद्रा नपाउँदा मस्तिष्कले सिकेका कुराहरू राम्रोसँग स्मरण गर्न नसक्ने र भावनात्मक सन्तुलनमा समेत असर पर्ने उल्लेख गरिएको छ ।
विज्ञहरूले समस्या समाधानका लागि अभिभावकले पनि मोबाइल प्रयोगमा संयमता अपनाउनुपर्ने, परिवारस्तरमै स्क्रिन प्रयोगसम्बन्धी नियम बनाउनुपर्ने तथा सुत्ने कोठाबाहिर मोबाइल र अन्य उपकरण राख्नुपर्ने सुझाव दिएका छन् ।







