वीरगंज , जेठ १७ –
सिङ्गापुरमा जारी एसियाली खेलकुद छनोट क्रिकेट प्रतियोगितामा नेपालका कुशल भुर्तेल ले एक ओभरमा लगातार ६ छक्का प्रहार गर्दै ऐतिहासिक कीर्तिमान कायम गरेका छन् ।
चीनविरुद्धको खेलमा नवौँ ओभरमा बलर छेन झु योको सबै ६ बलमा छक्का प्रहार गर्दै भुर्तेलले दुर्लभ उपलब्धि हासिल गरेका हुन् । उनले ४३ बलमा ५ चौका र १६ छक्कासहित १२९ रनको विस्फोटक इनिङ्स खेलेका थिए । साथै ३७ बलमै शतक पूरा गरेका थिए ।
यसअघि नेपालबाट एक ओभरमा ६ छक्का प्रहार गर्ने कीर्तिमान दीपेन्द्र सिंह ऐरी को नाममा मात्रै रहेको थियो । उनले सन् २०२४ मा कतारविरुद्ध उक्त उपलब्धि हासिल गरेका थिए ।
नेपालका लागि सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान भने कुशल मल्ल को नाममा छ । उनले ३४ बलमा शतक बनाएका थिए । यस खेलमा उनले अविजित ८५ रन जोडे ।
विश्व क्रिकेटमा एक ओभरमा ६ छक्का प्रहार गर्ने खेलाडीहरूको सूचीमा अब भुर्तेल पनि थपिएका छन् । यसअघि हर्सल गिब्स, युवराज सिंह, काइरन पोलार्ड र जसकरण मल्होत्रा ले यो उपलब्धि हासिल गरिसकेका छन् ।







