वीरगंज , जेठ १७ –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वीरगंज महानगरपालिकाको प्रथम अधिवेशन आइतबार सुरु भएको छ ।
वीरगन्ज बसपार्कस्थित होटल सोल्टी गार्डेनमा आयोजित अधिवेशनको उद्घाटन सत्र पार्टीका केन्द्रीय सचिव तथा संगठन विभाग प्रमुख शंकर श्रेष्ठले गरेका थिए ।
उद्घाटन सत्रपछि महानगर नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु गरिएको जिल्ला सभापति तथा पर्सा क्षेत्र नं. १ का सांसद हरि पन्तले जानकारी दिएका छन् । उनका अनुसार अधिवेशनमार्फत लोकतान्त्रिक विधिबाट नयाँ नेतृत्व चयन गरिनेछ ।
महानगर अध्यक्ष पदका लागि अमन आलम र दीपराज पटेलले उम्मेदवारी दिएका छन् । उद्घाटन सत्रपछि बन्दसत्र सञ्चालन भएकाले पार्टीका प्रतिनिधि बाहेक अन्यलाई प्रवेश नदिइएको पनि सभापति पन्तले स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जालमा सञ्चारकर्मीलाई निषेध गरिएको भन्ने विषय गलत रूपमा प्रस्तुत गरिएको भन्दै उनले त्यस्ता टिप्पणीप्रति आपत्ति जनाएका छन् ।







