वीरगंज नाकाबाट ईभी आयात १४३ प्रतिशतले बढ्यो

1200x150_1200x150-01.jpg (1)

वीरगंज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो १० महिनामा विद्युतीय सवारीसाधन (ईभी) आयातमा उल्लेखनीय वृद्धि भएको छ । यस अवधिमा ४ अर्ब २ करोड रुपैयाँभन्दा बढी मूल्यका १५ हजार २७१ वटा ईभी नेपाल भित्रिएका छन् ।

वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत वर्षको सोही अवधिको तुलनामा ईभी आयातको मूल्य २ अर्ब ३७ करोड रुपैयाँ अर्थात् १४३.६० प्रतिशतले बढेको हो । गत वर्ष १ अर्ब ६५ करोड रुपैयाँ मूल्यका ९ हजार ४२ वटा ईभी आयात भएका थिए ।

ईभी आयातसँगै राजस्व संकलन पनि वृद्धि भएको छ । विशेषगरी ५१ देखि १०० किलोवाट क्षमताका विद्युतीय कार, जीप र भ्यानको आयात उल्लेख्य रूपमा बढेको देखिएको छ । यस वर्गका ६५७ वटा सवारीसाधन आयात भई १ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन भएको भन्सारले जनाएको छ ।

त्यस्तै विद्युतीय दुईपाङ्ग्रे सवारीसाधनको आयात पनि बढ्दै गएको छ । यस अवधिमा ८ हजार ८६७ वटा ई–मोटरसाइकल तथा स्कुटर भित्रिएका छन्, जसबाट ३८ करोड ५५ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

परम्परागत इन्धन सवारीसाधन तथा पार्टपुर्जाको आयात पनि बढेको छ । १० महिनामा ३१ अर्ब ३१ करोड रुपैयाँ बराबरका सवारीसाधन र पार्टपुर्जा आयात भएको भन्सारले जनाएको छ ।

भन्सार तथ्यांकले नेपालमा विद्युतीय सवारीप्रतिको आकर्षण तीव्र रूपमा बढ्दै गएको देखाएको छ । इन्धन खर्च, वातावरणीय चेतना र सरकारी नीतिले ईभी बजार विस्तारमा प्रभाव पारेको सरोकारवालाहरूको भनाइ छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः