वीरगंज, जेठ १९ –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका क्रममा आज भारतीय जनता पार्टी (भाजपा) का शीर्ष नेताहरूसँग भेटघाट तथा अन्तरक्रियामा सहभागी हुने भएका छन्।
भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा नयाँ दिल्ली पुगेका लामिछानेले आज भाजपा मुख्यालयमा अध्यक्ष नवीनसहित पार्टी पदाधिकारीहरूसँग भेट गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ। भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता पनि हुने बताइएको छ।
प्रतिनिधिसभा निर्वाचनपछि सरकार गठन भएको दुई महिनापछि भएको लामिछानेको भारत भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ। नेपाल–भारत सीमा सम्बन्धी विषयमा बहस भइरहेका बेला भएको यो भ्रमणलाई राजनीतिक तथा कूटनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ।
यसैबीच भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्स मा प्रकाशित लेखमार्फत लामिछानेले नेपाल–भारत सम्बन्धमा विश्वासको वातावरण निर्माण आवश्यक रहेको उल्लेख गर्दै सीमा विवादलाई ऐतिहासिक तथ्य, प्रमाण र आपसी समझदारीका आधारमा समाधान गर्नुपर्ने बताएका छन्।







