वीरगंज, जेठ २० –
मधेस प्रदेशका निलम्बित प्रदेशसभा सदस्य तथा पूर्वराज्यमन्त्री सरोजकुमार सिंहलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले ४ वर्ष कैद सजाय सुनाएको छ।
विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले मंगलबार सिंहलाई दोषी ठहर गर्दै ४ वर्ष कैद र ३८ लाख ५० हजार १ सय ३९ रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो।
उपभोक्ता समितिहरूसँग घुस लिएको प्रमाण फेला परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष सिंहलाई पक्राउ गरी अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा सांसद विकास कोषअन्तर्गतका योजनाबाट उनले ३७ प्रतिशतसम्म कमिसन लिएको खुलेको थियो।
अख्तियारका अनुसार कमिसनस्वरूप लिइएको रकम सिंहकै खातामा बरामद भएको थियो। सोही आधारमा दायर गरिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो।
महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित सिंह जनता समाजवादी पार्टी नेपालका नेता हुन्। भ्रष्टाचार मुद्दा दर्ता भएसँगै उनी प्रदेशसभा सदस्य पदबाट निलम्बनमा परेका थिए। अदालतको फैसलासँगै उनीमाथिको भ्रष्टाचार आरोप प्रमाणित भएको छ।







