भत्ता र बजेट नपाएको भन्दै वडाध्यक्षद्वारा कामकाज ठप्प गर्ने घोषणा

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २० –

पर्सागढी नगरपालिका–६ का निर्वाचित वडाध्यक्ष नवल किशोर प्रसाद कलवारले आफूले पाउनुपर्ने सेवा–सुविधा, भत्ता तथा वडा सञ्चालनका लागि आवश्यक बजेट उपलब्ध नगराइएको भन्दै वडाको सम्पूर्ण कामकाज रोक्ने घोषणा गरेका छन्।

वडाध्यक्ष कलवारले नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा जिल्ला प्रशासन कार्यालय पर्सालाई पत्राचार गर्दै प्रदेश सरकारको व्यवस्था अनुसार पाउनुपर्ने सुविधा र २०८१/०८२ तथा २०८२/०८३ मा सम्पन्न कामको भुक्तानीसमेत नपाएको उल्लेख गरेका छन्।

पत्रमा नगरसभाबाट वडा स्तरीय बजेट छुट्याइए पनि वडाध्यक्षको जिम्मेवारीअनुसार खर्च गर्ने अधिकार तथा बजेट उपलब्ध नगराइएको, पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो गरिएको छ।

वडाध्यक्ष कलवारले आफूले पाउनुपर्ने सेवा–सुविधा रोकिएको तथा राजनीतिक प्रतिशोधका कारण काम गर्न असहज बनाइएको आरोपसमेत लगाएका छन्। उनले जेठ १९ गतेदेखि सेवा–सुविधा उपलब्ध नभएसम्म वडाबाट हुने सम्पूर्ण कामकाज स्थगित गर्ने निर्णय गरेको जानकारी दिएका छन्।

यस विषयमा पर्सागढी नगरपालिकाको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

भर्खरै

सम्बन्धित पोस्टहरुः