वीरगंज, जेठ २० –
विश्व वातावरण दिवस २०८३ को अवसरमा प्रकृति सेवा प्रतिष्ठान, नेपालको आयोजनामा बुधबार वीरगंजमा जनचेतनामूलक साइकल र्याली सम्पन्न भएको छ।
जीवन ज्योति स्कुलको सहकार्यमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत चौथो दिन साइकल र्याली निकालिएको हो ।
प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको नेतृत्वमा सम्पन्न र्यालीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युवराज कटुवाल, प्रधानाध्यापक शिव गुप्ता, समाजसेवी, सञ्चारकर्मी, शिक्षक तथा कक्षा ९ र १० का करिब ५० विद्यार्थीको सहभागिता रहेको थियो।
जीवन ज्योति स्कुलबाट सुरु भएको र्याली घण्टाघर, बसपार्क, बाइपास रोड, नगवा, रेशमकोठी, मेनरोड, घडिअर्वा पोखरी र माइस्थान हुँदै पुनः विद्यालय परिसरमा पुगेर समापन गरिएको थियो। र्यालीको उद्घाटन प्रधानाध्यापक गुप्ताले हरियो झण्डा देखाएर गरेका थिए।
कार्यक्रममा ट्राफिक प्रमुख कटुवालले वातावरणले मानव जीवनलाई आवश्यक हावा, पानी र खाद्य स्रोत उपलब्ध गराउने भएकाले यसको संरक्षण सबैको दायित्व भएको बताए। उनले ट्राफिक नियमको पालना गर्न पनि आग्रह गरे।
प्रतिष्ठानका अध्यक्ष सिंहले ‘हरियो, सफा र स्वस्थ वीरगंज’ अभियानलाई सफल बनाउन तथा वातावरण संरक्षणबारे जनचेतना फैलाउने उद्देश्यले साइकल र्याली आयोजना गरिएको बताए। उनले वातावरण संरक्षणका लागि सबै नागरिकलाई आ–आफ्नो ठाउँबाट योगदान गर्न आग्रह गरे।










