वीरगंज, जेठ – २०
पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत कमला नदीमाथि निर्माणाधीन बहुप्रतीक्षित पुल वर्षौंदेखि अधुरै रहँदा सिरहा र धनुषाका बासिन्दामा सरकारप्रति असन्तोष बढ्दै गएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा पनि पुल निर्माणका लागि स्पष्ट रकम विनियोजन नभएपछि स्थानीय निराश बनेका छन्।
करिब १५ वर्षअघि सुरु भएको पुल निर्माण कार्य विभिन्न कारणले पटक–पटक अवरुद्ध हुँदै आएको छ। २०७८ सालको बाढीले संरचनामा क्षति पुर्याएपछि निर्माण झन् प्रभावित बनेको स्थानीयको भनाइ छ। हाल अस्थायी व्यवस्थामार्फत आवतजावत भइरहेको छ।
स्थानीयका अनुसार पुल सञ्चालनमा आएको भए सिरहा र धनुषाबीचको यात्रा करिब ३० मिनेटमा पूरा हुने थियो। तर अहिले वैकल्पिक मार्ग प्रयोग गर्दा दुईदेखि तीन घण्टासम्म समय लाग्ने गरेको छ। बाढीका बेला आवतजावत थप जोखिमपूर्ण बन्ने गरेको उनीहरूको गुनासो छ।
पटक–पटक प्रधानमन्त्री, मन्त्री तथा उच्च अधिकारीहरूले स्थलगत निरीक्षण गरी पुल निर्माणको आश्वासन दिए पनि कामले गति लिन नसकेको स्थानीयको आरोप छ। २०६८ सालमा करिब २४ करोड ९० लाख रुपैयाँ लागतमा पप्पु–लुम्बिनी जेभीले ४६९.२ मिटर लामो पुल निर्माणको ठेक्का पाएको थियो। तर निर्माण कम्पनीको ढिलासुस्ती, प्रशासनिक जटिलता र प्राकृतिक विपत्तिका कारण आयोजना अझै सम्पन्न हुन सकेको छैन।
कमला पुल निर्माणको माग गर्दै स्थानीयले आन्दोलनसमेत सुरु गरेका छन्। हालै जनकपुरधाममा प्रदर्शन गर्दै उनीहरूले सरकारसँग तत्काल नयाँ पुल निर्माण प्रक्रिया अघि बढाउन माग गरेका छन्। स्थानीय जनप्रतिनिधिहरूले पनि बजेटमा पुल नसमेटिए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।







